२७ साउन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरूले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरिदिएका छन् । सो क्रममा झडप हुँदा अखिल क्रान्तिकारीका संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत घाइते भएका छन् ।
विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मंगलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला पार्किङ गरी राखेको गाडी अराजक समूहले तोडफोड गरेको विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार अन्तरक्रिया भइरहेका बेलामा ढुंगामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ बञ्चरो पनि प्रहार गरिएको छ ।
तर यता विद्यार्थी संगठनहरूले आन्दोलनमा दमन गरेको भन्दै विश्वविद्यालयका पदाधिकारीहरुलाई कारबाहीको माग गरेका छन् ।
विश्वविद्यालयमा चार विद्यार्थी संगठन अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्नेलगायतका माग राखेर आन्दोलित छन् । केही दिनयता विद्यार्थीहरू रिले अनशनमा छन् ।