जोहानेसबर्ग, १९ मङ्सिर: संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बुधबार दक्षिणी अफ्रिकामा ऐतिहासिक खडेरीले दुई करोड ६० लाख मानिसलाई खाद्य असुरक्षामा धकेलेको चेतावनी दिँदै तत्काल आर्थिक सहयोगको माग गरेको छ ।
सन् २०२३–२०२४ को एल नीनो जलवायु घटनाले झनै बिग्रेको यो सङ्कट अर्को वर्ष मार्च वा अप्रिलसम्म अर्थात् अर्को फसलसम्म कम्तीमा थप गहिरो हुने अपेक्षा गरिएको छ ।
“आज हामीसँग यस क्षेत्रमा दुई करोड ६० लाख मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् र यो एल निनो प्रेरित खडेरीका कारण हो”, डब्लुएफपीका दक्षिणी अफ्रिकाका क्षेत्रीय निर्देशक एरिक पर्डिसनले भन्नुभयो ।
पर्डिसनले सबैभन्दा बढी प्रभावित सात देशमा अङ्गोला, लेसोथो, मलावी, मोजाम्बिक, नामिबिया, जाम्बिया र जिम्बाब्वे रहेको बताउनुभयो ।
डब्लुएफपीका अनुसार उनीहरूलाई सङ्कटको सामना गर्न थप ३० करोड डलरको आवश्यकता छ ।
खडेरीले धेरै बाली र पशुधन नष्ट गरेकाले लेसोथो, मलावी, नामिबिया, जाम्बिया र जिम्बाब्वेसहितका पाँच मुलुकले विगत महिनाहरूमा राष्ट्रिय प्रकोपको अवस्था घोषणा गरेका छन् ।
धेरै ठाउँमा सामान्यतया वर्षको यस समयमा बिउ रोप्ने किसानहरूले त्यसो गर्न सकिरहेका छैनन् ।
मलावीमा डब्लुएफपीले अभावका कारण सहायता प्रदान गर्न खाद्यान्न आयात गर्नुपर्ने बताएको छ । “यस वर्षको सुरुमा एल निनो खडेरीले मकै बालीको लगभग आधा क्षति भएको थियो”, देशका समूहका प्रतिनिधि पल टर्नबुलले भन्नुभयो ।
“जाम्बियालाई ‘दक्षिणी अफ्रिकाको अन्न भण्डार’ मानिन्छ तर अहिले यो मुलुक ‘भोकमरी सङ्कटको सँघारमा खडा छ”, डब्लुएफपीका देशीय निर्देशक सिसी कबासुगाले भन्नुभयो ।
उच्च मध्यम आय भएको देश नामिबियामा पनि स्थिति विकराल छ । “सबै १४ क्षेत्र खडेरीबाट प्रभावित भएका थिए, तीमध्ये केहीमा धेरै चिन्ताजनक स्तर छन् (खाद्य असुरक्षाको) र यो नामिबियाका लागि धेरै चिन्ताजनक अवस्था हो”, डब्लुएफपीका टिवोङ्गे माचिवेनिकाले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार यस क्षेत्रको भ्रमणका क्रममा खडेरीबाट प्रभावित मानिससहित ३१ अफ्रिकी देशलाई एक अर्ब डलरको मानवीय सहायता प्याकेजको घोषणा गर्नुभयो ।