मंसिर १९, २०८१ बुधबार

काठमाडौँ, १९ मङ्सिर : उपराष्ट्रपति रामसहायप्रसाद यादव थाइल्याण्ड अधिराज्यको राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

    त्यस अवसरमा नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोनले थाइल्याण्ड–नेपाल कूटनीतिक सम्बन्धका ६५ वर्षमा दुई देशबीचको सम्बन्ध प्रगाढ बनेको उल्लेख गर्दै नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा आफ्नो मुलुकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    थाइल्याण्ड र नेपालबीच सरकारीस्तरका साथै जनस्तरमा पनि सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उहाँले लुम्बिनीमा निर्मित थाई गुम्बाका माध्यमबाट यो सम्बन्ध अझ सुदृढ बनेको बताउनुभयो । उहाँले थाइल्याण्डका राष्ट्रपिता भूमिबोल अदुल्यादेजले थाइल्याण्डको विकासका निम्ति गर्नुभएको योगदानको स्मरण गर्दै मौसुफले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिनुभएको बताउनुभयो ।

    समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी, कामको सिलसिलामा यहाँ रहेका थाई नागरिक, उद्यमी–व्यवसायी तथा वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।