२७ साउन, धनगढी । दार्चुला घटनामा गठित गृह मन्त्रालयका सह-सचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोलीले बुधबार बिहान धनगढी पुगेर सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग भेटघाट गरेर दार्चुलामा रहेर गरेका कामका बारेमा जानकारी गराएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री जोशीले गृहको टोलीले दार्चुलामा सरोकारवाला निकाय, पीडित परिवार, प्रत्यक्षदर्शीसँग भेटघाट तथा छलफल, घटनास्थलको अवलोकन गरेको विषयमा जानकारी गराएको बताउँदै प्रतिवेदन भने काठमाडौँ पुगेर बुझाउने बताइन् ।
मन्त्री जोशीले टोलीलाई यहाँको सीमा सुरक्षा, भारतीय पक्षले सीमा नाका दिने सास्तीलगायतका विषयमा जानकारी गराउँदै अगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने सुझावसमेत दिएकी छन् ।
बैतडी र डडेल्धुरामा महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गरेर फर्किएको टोली आज कञ्चनपुर जाँदै छ ।
छानबिन टोलीका सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेलले कञ्चनपुरमा पनि महाकाली नदीको तटीय क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
गत १५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलङ्गा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी काटिदिएपछि खसेर व्यास गाउँपालिका-२ का जयसिंह धामी बेपत्ता भएका थिए ।