नेपालगञ्ज, २० मङ्सिर : यहाँको नेपालगञ्ज उपमहानगरपालिकाले आज तीन स्वास्थ्य महिला स्वयंसेविकालाई सम्मान गरेको छ ।
२१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा उपमहानगरपालिका–१० की बीना थापामगर, वडा ं १४ की सुरसती बिज्रवासी र वडा नं ९ की मिनाकुमारी चौधरीलाई रु ५० हजार नगद र कदरपत्रसहित उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सम्मान गर्नुभयो ।
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख विष्टले स्वास्थ्य स्वंयसेविकाले समाजमा योगदान गरेको उल्लेख गर्दै उपमहानगरपालिकाले स्वास्थ्य स्वंयसेविकाको सेवा र सुविधामा वृद्धि गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ समाजमा उहाँहरुको योगदानको कदर स्वरुप आगामी बजेटबाट प्राप्त हुने सेवा र सुविधा अझै बढाइने छ ।”
नगरप्रमुख विष्टले स्वास्थ्य स्वंयसेविकाको पुर्नताजगी र सीप विकासका लागि समेत बजेटको प्रवन्ध हुने जानकारी दिदै ६० बर्षपछि अवकासमा जाने स्वास्थ्य महिला स्वंयसेविकालाई सुविधा प्रदान गर्न समेत बजेट विनियोजन भएको बताउनुभयो ।
जिल्लामा कूल सात सय ८५ स्वास्थ्य महिला स्वयंसेविका रहेका छन् । तीमध्ये एक सय ८१ नेपालगञ्जमा मात्रै रहेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।