साउन २८, २०७८ बिहिबार

बाँके, साउन २८ : बाँके राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग र कोहलपुर–सुुर्खेत सडकखण्डअन्तर्गत रत्न राजमार्गमा गुड्ने यातायातका साधन र अन्य कारण पछिल्लो सात वर्षमा सवारी दुर्घटनामा परी ३५८ वन्यजन्तु मारिएका छन् । आर्थिक वर्ष ०७७र०७८ मा मात्र पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गमा गुड्ने यातायातका साधनले ४३ वटा वन्यजन्तुको कुल्चेर ज्यान गएको छ । गत आवमा अन्य कारणले २५ वटा वन्यजन्तुको मृत्यु भएको छ ।

“निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तुका लागि जोखिम बनेका छन्”, निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले भन्नुभयो, “तीव्र गतिमा गुड्ने यातायातका साधनले सडक वारपार गरिरहेका वन्यजन्तुलाई कुल्चेर भाग्ने गर्छन् ।” राजमार्गमा यातायातका साधन तीव्र गतिमा गुड्ने भएकाले सडक वारपार गर्ने क्रममा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको उहाँले बताउनुभयो । यसरी यातायातका साधनले कुल्चेर मर्नेमा सबैभन्दा धेरै चित्तल, बँदेल र बाँदर प्रजातिका वन्यजन्तु रहेका छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत न्यौपानेले राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापर्बाहीले वन्यजन्तु जोगाउन मुस्किल परेको बताउनुभयो । उहाँँले सबैभन्दा बढी सडक दुर्घटनामा परी पूर्वपश्चिम राजमार्गमा मारिने गरेको बताउनुभयो ।

निकुञ्जमा पूर्वपश्चिम राजमार्गले ७२ किलोमिटर र उत्तरदक्षिणको रत्न राजमार्गले ३२ किलोमिटर निकुञ्जभित्रको वन क्षेत्र ओगटेको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७१र०७२ मा सडक दुर्घटनामा परी १६ वटा वन्यजन्तुले ज्यान गुमाएका थिए भने उक्त आवमा कुकुरको टोकाइ तथा अन्य कारणबाट चार–चार वटा मारिएका थिए । सडक दुर्घटनामा परी आव ०७२र०७३ मा परी ४३ र कुकुरको टोकाइबाट तीन र अन्य कारणले चार वटा वन्यजन्तुको मृत्यु भएको थियो ।

त्यसैगरी आव ०७३र०७४ मा सडक दुर्घटनामा परी ६१ र कुकुरको टोकाइबाट सात तथा अन्य कारणले १५ वन्यजन्तुको मृत्यु भएको थियो । यातायातका साधनको ठक्करले मृत्यु हुने वन्यजन्तुको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । आव ०७४र०७५ मा बढेर ७२ वन्यजन्तुको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । सोही आवमा कुकुरको टोकाइबाट चार र अन्य कारणले छ वटा वन्यजन्तुले ज्यान गुमाए ।

सहायक संरक्षण अधिकृत न्यौपानेका अनुसार आव ०७५र०७६ मा सडक दुर्घटनामा ४४ वन्यजन्तुको मृत्यु हुँदा कुकुरको टोकाइबाट १३ र अन्य कारणले नौ वन्यजन्तुले ज्यान गुमाउनुपरेको थियो । आव ०७६र०७७ मा ५४ र गत आवमा ४३ वन्यजन्तुको सवारी दुर्घटनामा परी मृत्यु भयो भने गत आवमा कुकुरको टोकाइबाट २५ वन्यजन्तुको मृत्यु मारिए ।