बाल कलाकार सृष्टि दुलालद्वारा अभिनित वेब सिरिज 'मैना'को ट्रेलर सार्वजनिक भएको छ । गाउँले जीवनशैलीको सामाजिक कथावस्तु बोकेको उक्त सिरिजको ट्रेलर बुधबार सार्वजनिक भएको हो ।
उक्त सिरिजमा समाजमा अझै अस्तित्वमा रहेका पितृसत्तात्मक सोच, एकल महिला र तिनका सन्तानले भोग्ने पीडा र उनीहरूले गरेको संघर्षको कथालाई देखाउन खोजिएको छ । विष्णु रिजालको लेखन तथा निर्देशनमा रहेको सिरिजलाई पवन भुजेलले सम्पादन गरेका हुन् भने रवीन्द्र ढलकुटी र दिनेश गोले निर्माता रहेका छन् । यस सिरिजमा विद्या कार्की, विष्णु रिजाल, विकास कार्की, लक्ष्मी ढकाल, रवीन्द्र ढलकुटी, भीम खड्का, समीर गजमेर, रामबाबु बिसी, उपासना मगर र मीना श्रेष्ठ दाहालले अभिनय गरेका छन् ।
यसअघि दुलालले सामाजिक विषयवस्तु समेटिएको छोटो चलचित्र 'पश्चाताप' र 'ठूलो माछा' नामक चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् भने उनले अभिनय गरेको सिमानासँग सम्बन्धित अर्को चलचित्र 'नेपाल आमा' हो ।
यसैगरी उनीद्वारा अभिनित छोटा चलचित्रहरूमा 'दशैँ एक सन्देश' र 'एक लाख पचास हजार' रहेका छन् । 'च्वास्स पिरो' र 'ताल न बेताल' चाहिँ दुलालले अभिनय गरेका टेलिसिरियल हुन् ।
भिडियो लिङ्क यहाँ छ : https://m.youtube.com/watch?v=19VmjYRBPZM&feature=share