पुस १, २०८१ सोमबार

काठमाडौँ, १ पुस : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्स सामु जितको लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा दश विकेट गुमाएर एक सय एक रन बनाएको हो । कर्णालीका लागि जिशान मकसूदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौकाको मद्दतले ३० रन बनाएका हुन् । विलियम बोसिस्टोले १६, बाबर हयातले १३, कप्तान सोमपाल कामी र चाडविक वाल्टनले समान ११/११ रन बनाए ।
 
यस्तै, कर्णालीको लागि देव खनालले ७, अर्जुन घर्तीले अविजित रहदैँ ३ र गुलसन झाले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ८ रन प्राप्त गर्‍यो । बलिङतर्फ सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुग्गेलिजनले समान दुई/दुई विकेट लिँदा सैफ जैबले एक विकेट हात पारे ।
 
अहिले सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ ।