साउन २९, २०७८ शुक्रबार

फाइल तस्बिर

काठमाडौं, साउन २९ गते । पछिल्लो समय कोरोना कहरका कारण कतिपय परीक्षाहरू सञ्चालनको क्रममा स्थगन भएका छन् भने कतिपय परीक्षाहरू सञ्चालन हुनेक्रममा स्थगन हुन पुगेका छन् । पछिल्ला दुई वर्षयता विद्यार्थीहरूको कक्षा पूरा नभई परीक्षा सञ्चालन गरेर कक्षा वृद्धि गरिएको छ भने एसईईको परीक्षासमेत आन्तरिक मूल्याङ्कनको माध्यमबाट प्रकाशित गरिएको छ । 

यसरी विद्यार्थीलाई कक्षा स्तरोन्नति गर्दा विद्यार्थीको भविष्यमा दीर्घकालीन असर पर्न सक्ने शिक्षाविद्ले बताएका छन् ।

यस्तै कक्षा १२ को परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएसँगै विद्यार्थीमा अन्यौल छाएको छ । कक्षा १२ को परीक्षा सुरु हुनुभन्दा एक साताअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गरेसँगै परीक्षाको तयारी गरीरहेका विद्यार्थीहरू निरास भएका छन् ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर परीक्षा स्थगित गरेको परीक्षा बोर्डले जनाए पनि शिक्षाविद्हरूले भने अहिले कक्षा १२ को परीक्षा भौतिक रूपमा गर्न नसके पनि अन्य विधि अपनाएर गर्नुपर्नेमा जोड दिएका छन् ।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अहिले कक्षा १२ को परीक्षा स्थगन गर्न नहुने बताउनुभएको छ ।

पठनपाठन नै अनलाइनमार्फत सञ्चालन भैरहेको अवस्थामा मुखैमा आएको परीक्षा बैकल्पिक विधि प्रयोग गरेर भए पनि सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ । तीन घण्टाको परीक्षाले विद्यार्थीहरूको भविष्य निर्धारण गर्न नसक्ने उहाँले बताउनुभयो । अहिले विद्यार्थीहरू जुन कुराको पहुँचमा छन्, त्यसकै आधारका परीक्षा लिनुपर्ने उहाँको भनाइ छ । अहिले मनोमानी रूपमा विद्यार्थीहरूलाई अङ्क दिँदा त्यसको असर पछिसम्म पर्ने उहाँले बताउनुभयो ।

यस्तै शिक्षाविद् डा. विनय कुमार कुसीयैतले कक्षा १२ को परीक्षा स्थगित गर्नु दु:खद् भएको बताउनुभएको छ । कोरोना संक्रमणको वहानामा कक्षा १२ को परीक्षा स्थगन गर्दा परीक्षाको तयारीमा रहेका बालबालिकाको बाल मस्तिष्कमा नै असर पर्न सक्ने उहाँले बताउनुभएको छ ।

अहिले शिक्षा क्षेत्रमा देखिएको बेथितिविरुद्ध शिक्षा मन्त्रालयले अंकुश लगाउनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ । कमजोर विद्यार्थीहरूलाई मनोमानी रूपमा अंक दिँदा शैक्षिक जनशक्ति नै कमजोर निस्कने भएकाले नेपालको शिक्षा क्षेत्र धरासायी हुनेमा कुनै शंका नरहेको उहाँले बताउनुभयो । अहिले पनि कक्षा १२ सम्मको शिक्षालाई केन्द्रिकृत प्रणलीमै सञ्चालन गरीरहेकाले यस्तो समस्या देखिएको उहाँको दाबी छ ।

यस्तै शिक्षाविद् डा. बासुदेव काफ्लेले पनि अहिले शिक्षा क्षेत्रमा बेथिति व्याप्त देखिएको बताउनुभएको छ । यसको असर दीर्घकालीन समयसम्म देखापर्ने उहाँको भनाइ छ । कम लगानीबाट बढी प्रतिफल प्राप्त हुन्छ भन्ने सोचका कारण यस्तो अवस्था सिजना भएको उहाँको भनाइ छ । पछिल्लो समय कक्षा १२ को परीक्षा स्थगित गर्नुको साटो वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।