काठमाडौँ : त्रिभुवन विश्वविद्यालय तथा यसअन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूले बिरामी भएको खण्डमा देशका विभिन्न ६० वटा अस्पतालबाट स्वास्थ्य उपचार खर्चमा एक लाखसम्मको छुट पाउँछन् ।
विद्यार्थीहरूको चस्मा र चस्माको लेन्स खर्च, कानमा लगाउने उपकरणको खर्च भने विद्यार्थी स्वास्थ्योपचार कोषले बेहोर्दैन। त्यसैगरी शरीरको अङ्ग प्रत्यारोपणसम्बन्धी खर्च, कस्मेटिक उपचार खर्च, कुनै पनि प्रकारको औषधि खर्च, सुत्केरी र गर्भवतीसम्बन्धी कुनै पनि खर्च सामान्य शरीर चेकजाँच (होलबडी चेकअप) मा लाग्ने खर्च पनि कोषले नबेहोर्ने नियम रहेको छ।
तर, यो विषय धेरै विद्यार्थीलाई थाहा नै छैन कि विद्यार्थीले स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट पाउँछन् । न त क्याम्पसहरूले नै विद्यार्थीलाई स्वास्थ्य उपचार पाउने विषयमा जागरूक नै गराएको पाइन्छ । क्याम्पसमा भर्ना हुने क्रममा विद्यार्थीले ५ सय शुल्क बुझाउँदा १ लाख बराबरको उपचार सुविधा पाउने व्यवस्था छ।
कोषबाट १ लाख उपचार रकम
‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोष सम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ बनेर ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ स्थापना भएको थियो। कोषको स्थापना भएपछि विद्यार्थीहरूले कोषबाट ५० हजार बराबरको स्वास्थ्य उपचार खर्च पाउने व्यवस्था गरिएको थियो।
विद्यार्थी स्वास्थ्य उपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणालीले ५० हजारबाट बढाएर केही वर्षयता एक लाखसम्मको स्वास्थ्य उपचार खर्च पाउने व्यवस्था गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयकी उपप्रशासक सरस्वती गुरुङले जानकारी दिइन्। उनले भनिन्, ‘संशोधन गरेर ५० बाट एक लाख बनाइएको हो।’
सुविधा लिने विद्यार्थी न्यून
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा देशैभरका २ सय १९ विद्यार्थीले स्वास्थ्य उपचार कोषबाट उपचार खर्च लिए। त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा १ सय ९५ र आर्थिक वर्ष २०७७/०७८ मा १ सय २ जना विद्यार्थीले स्वास्थ्य उपचार खर्च लिएका छन्।
यो तथ्याङ्कले कोषबाट उपचार खर्च लिने विद्यार्थीको सङ्ख्या पछिल्लो ३ आर्थिक वर्षमा बढ्नुको सट्टा क्रमशः घटेको देखिन्छ। कोरोना भाइरस महामारीका कारण स्वास्थ्य उपचार खर्चको सुविधा लिने विद्यार्थीको सङ्ख्या घटेको निर्देशनालयले जनाएको छ।
क्याम्पसहरूले समेत विद्यार्थीले छुट पाउने विषयमा विद्यार्थीलाई जागरूक बनाएको पाइँदैन। विद्यार्थीलाई पनि भर्ना गर्दा शुल्क तिर्ने भए पनि त्यो शुल्क तिरेको विषयमा धेरै चासो नहुँदा उपचार खर्च बापतको सुविधाबाट वञ्चित भएको पाइन्छ।
त्रिविले तोकेअनुसार छुट पाउने अस्पतालमध्येको एक हो, त्रिवि शिक्षण अस्पताल (टिचिङ)। यो अस्पतालमा त्रिविका विद्यार्थीले उपचारमा छुट पाउँछन्। तर अस्पतालमा यस्तो सुविधा लिएर उपचार गर्न पुग्ने विद्यार्थीको सङ्ख्या कमै पाइयो। सुविधाका विषयमा कहाँ जाने? कसरी लिने? भन्ने विद्यार्थीहरूले शुल्क बुझाए पनि सुविधा लिनबाट वञ्चित भएको देखियो।
छुटका बारेमा थाहा नहुँदा वर्षमा २०/३० जना विद्यार्थीले मात्रै शिक्षण अस्पतालमा छुट लिएर उपचार गर्ने गरेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारी बताउँछन्। उनी भन्छन्, ‘धेरैलाई थाहा नै छैन। हाम्रो अस्पतालमा वर्षमा २०/३० जना विद्यार्थीले छुट लिएर उपचार गर्छन्।’
कसरी पाइन्छ सुविधा?
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार स्वास्थ्य उपचार खर्च सुविधा लिनका लागि नियमित भर्ना भएको विद्यार्थी त हुनैपर्छ। भर्ना भएको विद्यार्थीमा स्वास्थ्य समस्या भई उपचार गर्नुपरे कोषबाट स्वास्थ्य उपचार सुविधा पाउनका लागि विद्यार्थीले आफू पढ्ने क्याम्पसमा निवेदन दिनुपर्ने हुन्छ।
विद्यार्थीले निवेदन दिइसकेपछि क्याम्पसले ‘त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय’मा विद्यार्थीलाई दिइने सहुलियतका लागि अस्पतालमा सिफारिस गरिदिन पत्र लेख्छ। क्याम्पसले बनाएको पत्र र विद्यार्थी परिचयपत्र (आइडेन्टी कार्ड) लिएर विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय पुग्नुपर्छ।
क्याम्पसको पत्र पाएपछि ‘विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय’ले विद्यार्थीको उपचार गर्ने अस्पताललाई उपचार सेवामा सहुलियत गरिदिन पत्रमार्फत निर्देशन दिन्छ।
अस्पतालले निर्देशनालयको पत्र पाएपछि विद्यार्थीको सहुलियत रूपमा उपचार गर्छ। निर्देशनालयले पठाएको पत्र अस्पतालबाट स्वीकृत भएपछि विद्यार्थीले छुट सुविधामा उपचार गर्न पाउने शिक्षण अस्पतालका सूचना अधिकारीले जानकारी दिए। उनले भने, ‘अस्पतालबाट स्वीकृति भएपछि विद्यार्थीले छुटमा उपचार गर्न पाउँछन्।’ सूचना अधिकारीले शिक्षण अस्पतालमा औषधि र खानाबाहेकको स्वास्थ्य उपचारमा ९० प्रतिशत छुट हुने बताए।
उपचार भइसकेपछि विद्यार्थीलाई उपचार गर्दा लागेको खर्चको विवरण तथा खर्चको बिलसहित विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा अस्पतालले शोधभर्नाका लागि पेस गर्छ।
उपचार खर्च रुजु गरेपछि निर्देशनालयले ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ मा अस्पताललाई शोधभर्ना गरिदिन सिफारिस गर्ने निर्देशनालयकी उपप्रशासक गुरुङले जानकारी दिइन्। निर्देशनालयले शोधभर्नाका लागि सिफारिस गरेपछि विद्यार्थीको उपचार बापतको रकम अस्पतालले कोषबाट पाउने उनले बताइन्।
उपप्रशासक गुरुङले भनिन्, ‘हामीले अस्पतालको सक्कली बिल हो कि हैन? सबै चेक गरेर, रुजु गरेर ठिक छ भनेपछि विद्यार्थी स्वास्थ्य उपचार कोषमा अस्पताललाई शोधभर्ना गरिदिनु भन्छौँ।’ त्यसपछि अस्पतालले विद्यार्थीको उपचार गरेवापतको शोधभर्ना पाउने गुरुङले जानकारी दिइन्।
उपचारका क्रममा सिफारिसपत्र लिन नसकेको अवस्थामा विद्यार्थीले अस्पतालबाट डिस्चार्ज भएको एक महिना भित्रमा सुविधाका लागि निवेदन दिए कोषबाट सुविधा लिन सकिने निर्देशनालयले जनाएको छ।
विशषेगरी दुर्घटना जस्ता आपत्कालीन रूपमा उपचार गर्नुपर्ने अवस्थामा सुविधाको प्रक्रियामा जानुभन्दा पहिलो प्राथमिकता उपचार नै हुन्छ। यस्तो अवस्थामा अस्पतालबाट डिस्चार्ज भएको एक महिना भित्रमा विद्यार्थी कल्याणकारी कोषबाट सुविधा लिन सकिने निर्देशनालयकी उपप्रशासक गुरुङले जानकारी दिएकी छन्।
के–केमा छुट हुन्छ?
‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ मा विद्यार्थीहरू कोषको अनिवार्य सदस्य हुने व्यवस्था रहेको छ। कार्य व्यवस्थापन प्रणालीको दफा ४ मा उल्लेख छ, ‘विश्वविद्यालयको आङ्गिक क्याम्पस वा केन्द्रीय विभाग वा अनुसन्धान केन्द्र वा कुनै सङ्गठन वा निकायका कुनै शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरू कोषको अनिवार्य रूपमा सदस्य रहनेछन्।’
कोषका सदस्यले स्वास्थ्योपचार सुविधा लिन पाउने व्यवस्था रहेको छ। विद्यार्थीले प्रत्येक वर्ष भर्ना हुँदा नै स्वास्थ्य उपचार बापत ५ सय शुल्क क्याम्पसमा बुझाउनुपर्ने हुन्छ।
अहिलेलाई स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले मात्रै कोषबाट स्वास्थ्य उपचार सुविधा लिन पाउने उपप्रशासक गुरुङले जानकारी दिइन्। ‘अहिले स्नातक र डिग्री तहलाई मात्रै हो,’ उनले भनिन्, ‘पिएचडी र एमफिल तहकालाई सुविधा दिएको छैन।’ एमफिल र पिएचडी अध्ययनरत विद्यार्थीबाट पनि शुल्क लिएर स्वास्थ्य उपचारमा छुट सुविधा दिने कुरा भए पनि शुल्क लिइनसकेको उनले बताइन्।
‘विद्यार्थी स्वास्थ्योपचार कोष’का लागि शुल्क प्रत्येक वर्ष भर्ना भएको समयमा नै अनिवार्य रूपमा सम्बन्धित क्याम्पस र विभागले विद्यार्थीहरूबाट उठाएर कोषको खातामा जम्मा गर्नुपर्ने नियम छ। स्वास्थ्य उपचार कोष सम्बन्धी कार्य व्यवस्थापन प्रणालीको दफा ६ मा भनिएको छ, ‘शुल्क भुक्तानी नभएको अवस्थामा सम्बन्धित विद्यार्थीले कोषबाट स्वास्थ्योपचार खर्च पाउने छैन।’
क्याम्पस पढिरहेका विद्यार्थीले प्रत्येक वर्ष भर्ना हुँदा स्वास्थ्य उपचार शुल्क नतिरे सुविधा लिन नपाइने उपप्रशासक गुरुङले बताइन्। त्यसो त विद्यालयले विद्यार्थीबाट स्वास्थ्य उपचार शुल्क उठाएर ‘विद्यार्थी स्वास्थ्योपचार कोष’मा नबुझाए यो सुविधा लिन नपाइने निर्देशनालयले जनाएको छ।
सुविधा पाउने र नपाउने अवस्था
‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली–२०७१’ अनुसार विद्यार्थीको स्वास्थ्य उपचार खर्च बापत कोषबाट प्रत्येक शैक्षिक वर्षमा अधिकतम १ लाख बेहोर्ने व्यवस्था रहेको छ। एक लाखभन्दा नबढ्ने गरी सबै प्रकारका स्वास्थ्य उपचार खर्चको ९० प्रतिशत मात्र कोषले बेहोर्ने व्यवस्था छ।
भर्ना भएका बिरामीका लागि जेनेरल वार्डको बेड चार्ज मात्रै कोषले बेहोर्ने उल्लेख छ। तर उपचारका लागि आइसियुमा राख्न आवश्यक भए अधिकतम् एक लाख रकम आइसियुको खर्च कोषले बेहोर्ने व्यवस्था रहेको छ।
एक पटक बिरामी भएर सुविधा लिएका विद्यार्थीले अर्को पटक बिरामी हुँदा पनि सुविधा लिन पाउने उपप्रशासक गुरुङले जानकारी दिइन्। उनले भनिन्, ‘एक वर्षमा एक पटक मात्रै सुविधा लिन पाइन्छ भन्ने होइन। बिरामी भइरह्यो भने त ४/५ चोटि पनि पाइन्छ। एक लाख बराबरको जति पटक पनि पाउँछ।’ यसको अर्थ प्रत्येक वर्ष एउटा कक्षाबाट अर्को कक्षामा अध्ययन गर्दा भर्ना भएको आधारमा विद्यार्थीले कोषबाट सुविधा लिन पाउँछन्।
स्वास्थ्य उपचार कोषसम्बन्धी कार्य व्यवस्थापन प्रणाली अनुसार त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य उपचार गर्नका लागि त्रिवि र त्रिविबाट सम्बन्धन प्राप्त मेडिकल कलेजका शिक्षण अस्पताललाई तोक्ने व्यवस्था छ। सो नभएको स्थानमा अन्य विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजका अस्पताल वा सो पनि नभएको स्थानमा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतका शिक्षण अस्पतालहरू तथा सरकारी अस्पताललाई स्वास्थ्य उपचार गर्न तोक्ने व्यवस्था छ। कार्य व्यवस्थापन प्रणालीको दफा १० मा उल्लेख गरिएको छ, ‘तर, यस व्यवस्थाले सिधै शिक्षण अस्पतालमा स्वास्थ्योपचार गराउन बाधा पर्ने छैन।’
कार्य व्यवस्थापन प्रणालीमा तोकिएका (६० वटा) अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि उपचार हुन नसकेको खण्डमा मेडिकल बोर्डको सिफारिसमा नेपालमा नै अन्य अस्पतालमा वा विदेशमा स्वास्थ्य उपचार गर्न लैजान सकिने व्यवस्था रहेको छ।
केही रोग तथा अवस्थामा भने विद्यार्थीहरूको उपचारमा ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ले खर्च नबेहोर्ने नियम छ।
विद्यार्थीहरूको चस्मा र चस्माको लेन्स खर्च, कानमा लगाउने उपकरणको खर्च भने विद्यार्थी स्वास्थ्योपचार कोषले बेहोर्दैन। त्यसैगरी शरीरको अङ्ग प्रत्यारोपणसम्बन्धी खर्च, कस्मेटिक उपचार खर्च, कुनै पनि प्रकारको औषधि खर्च, सुत्केरी र गर्भवतीसम्बन्धी कुनै पनि खर्च सामान्य शरीर चेकजाँच (होलबडी चेकअप) मा लाग्ने खर्च पनि कोषले नबेहोर्ने नियम रहेको छ।
नेपाल सरकारको नीति र कार्यक्रमअनुसार निःशुल्क उपचार गर्ने भनिएका स्वास्थ्य उपचार खर्च कोषले बेहोर्दैन। क्याम्पसमा भर्ना हुनभन्दा अगाडि लागेको दीर्घकालीन रोग भएको भन्ने कुरा मेडिकल बोर्डबाट ठहर भए त्यस्ता रोगको उपचार खर्च पनि कोषले नबेहोर्ने प्रावधान रहेको छ । उकेरा