पुस ५, २०८१ शुक्रबार

नारायणगढ (चितवन), ५ पुसः जिल्लाको कालिका नगरपालिकाले सञ्चालन गरेको कालिका नगर अस्पतालमा थप सेवा विस्तार भएकोे छ । बाग्मती प्रदेश सरकारको सहयोगमा जनस्वास्थ्य कार्यालय चितवनमार्फत अस्पतालमा प्रयोगशालाका लागि नयाँ उपकरण जडान गरिएसँगै सेवा विस्तार भएको हो । 

    प्रयोगशालामा सेवा विस्तार र सेवाग्राहीलाई सहज रूपमा सेवा दिनका लागि टिकटमा टोकन प्रणाली पनि सुरु गरिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँले अस्पतालको थप सेवाले नगरवासीलाई स्वास्थ्य सेवामा सहज हुने बताउनुभयो । अस्पतालमा नयाँ प्रयोगशालाको उपकरण आएसँगै थाइराइडलगायत प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि समय कुर्नुपर्ने बाध्यता हटेको प्रमुख रेग्मीले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “अब सामान्य उपचारका लागि अन्यत्र जानु पर्दैन, पालिकामा पैसाको अभावमा कसैले उपचार पाइनँ भन्ने अवस्था छैन ।” नगरका विपन्न नागरिकको बीमा नगरपालिकाले गरेको बताउँदै उहाँले बीमामार्फत उपचार गर्दा ‘कोपेमेन्ट’को १० प्रतिशत शुल्क पनि नलाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीमा गरेका बिरामीले एक रुपैयाँ पनि तिर्नु पर्दैन ।”
 
    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीका अनुसार नयाँ उपकरण जडान भएसँगै थाइराइड जाँच,  भिटामिन डी, १२ (टुबेल)लगायत, क्यान्सर परीक्षण (सिए १२५) गर्न सकिनेछ । पालिकाको नगर अस्पतालमा अधिकांश बीमाका बिरामी आउने गर्दछन् । नगरपालिकाको स्वास्थ्य शाखामार्फत आठ सय ३१ विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारी बताउनुहुन्छ ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा जीवन खरेलले हप्ताको दुई दिन रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्स–रे सेवा र हप्ताको एक दिन स्त्री तथा प्रसूति र जनरल मेडिसिन विशेषज्ञबाट विशेषज्ञ सेवा अस्पतालले दिइरहेको बताउनुभयो । 

    अस्पतालमा आगामी दिनमा दन्त सेवा, हाडजोर्नी र वार्ड सेवा सञ्चालन गर्ने पनि योजना रहेको उहाँको भनाइ छ । बीमामा समावेश भएका अधिकांश औषधि नगर अस्पतालमै उपलब्ध गराउने प्रयास गरिएको मेसु डा खरेलले बताउनुभयो । खरेलका अनुसार अस्पतालमा दैनिक तीन सयदेखि चार सय जनाले बहिरङ्ग सेवा लिने गर्दछन् ।