बैतडी, ६ पुसः यहाँका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गर्न विज्ञ टोली परिचालन गरिएको छ । एसइई परीक्षामा सहभागी हुँदै आएका विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गर्न २१ जना विज्ञ खटिएका छन् ।
शिक्षा क्षेत्रमा लामो समय काम गरेर सेवा निवृत्त सहसचिव, उपसचिव, तत्कालीन जिल्ला शिक्षा अधिकारी र विभिन्न क्याम्पसका प्राध्यापक विज्ञ टोलीमा सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका कार्यालय प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।
उक्त टोली कार्यक्षेत्रमा खटिसकेकोे शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हरिप्रसाद निरौलाले बताउनुभयो । टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिने छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै बैतडी अन्तिम जिल्लाका रूपमा परीक्षण गरिरहेको केन्द्रका निर्देशक निरौलाले जानकारी दिनुभयो ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालसम्म देशभरीका करीब छ हजार चार सय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरिसकेको छ ।
लगानीअनुसारको शैक्षिक गुणस्तर कायम भए नभएका बारेमा यस कार्यक्रमले सहयोग पुग्ने गुणस्तर परीक्षणमा खटिनुभएका डा चन्द्रप्रसाद लुइँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको पुनःसंरचनापछि शिक्षा क्षेत्रमा के कस्ता प्रभाव प-यो ? भन्ने कुरा पनि यो अध्ययनले प्रस्ट्याउनेछ ।”
शैक्षिक गुणस्तर परीक्षण गर्दा विज्ञ टोलीका सदस्यले एउटा विद्यालयमा चार दिन बिताउने छन् । विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्र्गीकरण हुने जनाइएको छ ।
शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य अनुरूप परीक्षण भइरहेकाले यसले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास गरिएको छ ।