पुस ७, २०८१ आइतबार

काठमाडौँ, ७ पुसः नेपाल बुद्धिजीवी परिषद्ले वर्तमान सरकार गठन भएपछि मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको जनाएको छ । शनिबारेदेखि यहाँ सुरु भएको परिषद्को छैटाँै केन्द्रीय कमिटीले आज विशेष प्रस्ताव पारित गर्दै बैठक समापन गरेको हो ।

    परिषद्ले विशेष प्रस्तावमा उल्लेख गरेको छ, “नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएपश्चात् मुलुकको राजनीतिमा नयाँ परिवेश निर्माण भएको छ ।” 

    परिषद्का उपमहासचिव सुशील विकले वर्तमान सरकार गठन भएपछि नेपाली जनतामा राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय, विकास र समृद्धिप्रति आशा र विश्वास बढेको धारणा राख्नुभयो ।

    बैठकले प्रधानमन्त्री ओलीले छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका क्रममा गर्नुभएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) सम्झौता ऐतिहासिक र महत्वपूर्ण भएको जनाएको छ ।

    यस्तै, बैठकमा लामो समयदेखि जारी रूस–युक्रेन तथा इजरायल–हमासकाबीचको युद्धबाट सिङ्गो विश्व आतङ्कित, त्रसित र मर्माहत भएको भन्दै द्वन्द्वरत पक्षहरूलाई अविलम्ब युद्धविराम गर्न आग्रह गरेको छ । बैठकले परिषद्को राष्ट्रिय अधिवेशन अगामी चैत २९ र ३० गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको उपमहासचिव विकले जानकारी दिनुभयो ।