पुस ७, २०८१ आइतबार

    लागोस, ७ पुस : दक्षिणी नाइजेरियामा नागरिकहरूलाई चामल वितरण गर्ने केन्द्र बाहिर भएको भागदौडमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यो अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा यस्ता घटनाहरूको शृङ्खलामा पछिल्लो घटना हो ।     
     
 सोही दिन राजधानी अबुजामा ‘असहाय र वृद्ध’ लाई खाना दिँदै गर्दा चर्च बाहिर भएको छुट्टै भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो । यी दुई दुर्घटनाका कारण नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले आफ्नो कार्यतालिका खाली गर्नुभयो ।     
     
 अनाम्ब्रा राज्य प्रहरीका प्रवक्ताले ओकिजामा मृत्यु भएका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गर्नुभयो । “दुर्भाग्यपूर्ण घटनाको अनुसन्धान अझै जारी छ”, अनाम्ब्रा प्रहरी प्रवक्ता तोचुक्वु इकेङ्गाले २२ जनाको मृत्यु भएको पुष्टि गर्दै विज्ञप्तिमा भन्नुभयो ।     
     
 प्रहरीले पहिले घटनामा ‘धेरै’ को मृत्यु भएको बताएको थियो ।     
     
 मैतामा जिल्लाको होली ट्रिनिटी क्याथोलिक चर्च बाहिर अबुजामा भएको भागदौडमा मारिएका १० जनामध्ये चार जना बालबालिका रहेको प्रहरीले जनाएको छ । एक प्रहरी प्रवक्ताका अनुसार भागदौडमा अन्य आठ जना घाइते भएका छन् ।     
     
 “आनन्द र उत्सवको मौसममा हामी हाम्रा नागरिकहरूसँग आफ्ना प्रियजनहरूको पीडादायी क्षतिमा शोक व्यक्त गर्दछौँ, ईश्वरीय सान्त्वना र स्वास्थ्य लाभका लागि हाम्रो प्रार्थना उनीहरूसँग छ”, राष्ट्रपति टिनुबुले भन्नुभयो ।     
     
 दक्षिणपश्चिमी सहर इबाडनको एक विद्यालय मेलामा बिहीबार भागदौड भएपछि शनिबारका घटनाहरू भएका हुन् । त्यो भागदौडमा ३५ जना बालबालिकाको मृत्यु भएको थियो भने अन्य छ जना गम्भीर घाइते भए ।