कैलाली, ९ पुसः ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ धनगढीमा आजदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीको आयोजनामा ‘नवौँ बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ महोत्सव हुने भएको हो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ कैलालीले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा सुदूरपश्चिमका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री, शिक्षण संस्थाहरू र शिक्षासँग सम्बन्धित निकायहरूका एक सय बढी स्टल रहने सङ्घका अध्यक्ष भीम पडालले जानकारी दिनुभयो । महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्ततृत्वकला र चित्रकला प्रतियोगिता पनि आयोजना हुने उहाँले बताउनुभयो । प्रतियोगिता आधारभूत र माध्यमिक तह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।
महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुतिका साथै सुदूरपश्चिमका स्थानीय परिकारका खाना र खाजाका कक्ष राखिनेछन् । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयमा बहस सञ्चालन हुने जनाउँदै उक्त बहसमा मदन पुरस्कार विजेता साहित्यकार, विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व, विषय विज्ञलगायतको सहभागिता रहने पडालले उल्लेख गर्नुभयो ।
दुई लाख दर्शकले अवलोकन गर्नुका साथै रु पाँच करोड बढीको कारोबार हुने आयोजकले अनुमान गरेको छ । पडालका अनुसार महोत्सव अवधिभर झण्डै रु दुई करोड बढी खर्च हुने अनुमान गरिएको छ ।
महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थी सामूहिक रूपमा पोशाकमा आएमा निःशुल्क प्रवेश, अन्य विद्यार्थी स्वःस्फूर्त रूपमा आएमा रु ५० टिकट दर राखिएको छ भने सर्वसाधारणका लागि रु एक सय निर्धारण गरिएको सङ्घका अध्यक्ष पडालले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।