पुस १०, २०८१ बुधबार

मनहरी (मकवानपुर), १० पुसः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इसाई धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसका उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेपालीकोे  धार्मिक सहिष्णुता विश्वमा उदाहरणका रूपमा रहेको बताउनुभएको छ । 

उहाँले आज जारी गर्नुभएको सन्देशमा भनिएको छ, “हामी एकअर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्छ ।  चाडपर्वहरूले नेपाली समाजलाई एकतामा बाँधेका छन् । ”

यसैबीच, सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले  पनि यसै अवसरमा जारी गर्नु भएको शुभकामना सन्देशमा चाडपर्वहरूका माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ । 

‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीहरूमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले यस्ता पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।