पुस १०, २०८१ बुधबार

खोटाङ, १० पुसः त्रिधार्मिकस्थल खोटाङको हलेसी क्षेत्रमा अवस्थित मञ्जुश्री गुफा आवतजावतका लागि पदमार्ग निर्माण गरिएपछि भक्तजन तथा पर्यटकलाई सहज भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिकै रहेको मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर आकर्षक ढुङ्गा बिच्छ्याएर पदमार्ग निर्माण गरिएको हो । 

मञ्जुश्री गुफा जाने पदमार्गसँगै तुवाचुङ पद्मार्ग, माङिखम घर निर्माणलगायतका लागि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु छ करोड लगानीमा ठेकेदारमार्फत स्तरोन्नतिको काम शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । “मञ्जुश्री गुफा जाने बाटो अत्यन्तै अप्ठ्यारो थियो । पदमार्ग निर्माण भएसँगै यात्रा गर्न सहज भएको छ”, उहाँले भन्नुभयो, “मञ्जुश्री गुफा जावतजावतका लागि प्रयोग गरिने पदमार्ग आकर्षक बनेपछि पर्यटकको सङ्ख्यासमेत वृद्धि भएको छ ।”

मञ्जुश्री गुफा आवतजावत गर्ने भक्तजन तथा पर्यटकलाई लक्षित गरेर बाहिरी जिल्लाबाट आयात गरिएको आकर्षक ढुङ्गा बिच्छ्याएर ३६० मिटर लामो पदमार्ग निर्माण गरिएको छ । पदमार्गको दाँया र बाँया आकर्षक ढुङ्गाकै पर्खालसमेत लगाइएको छ । पाँच मिटर चौडाइ रहेको पदमार्ग टाढाबाट हेर्दा निक्कै आकर्षक देखिन्छ । 

धार्मिकरुपमा मात्र नभइ प्राकृतिकरुपसमेतमा विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन एवम् अवलोकन गर्न विश्वका तीर्थालु तथा पर्यटक आउने गरेका छन् । हलेसीसँगै नजिकै रहेका विभिन्न गुफामा पनि भक्तजन पुग्ने गरेका छन् । 

विशेष गरी हलेसीस्थित मारातिका गुम्बा आउने बौद्ध धर्मावलम्बी अनिवार्यरुपमा मञ्जुश्री गुफा जाने गरेका छन् । पदमार्ग भएर आवतजावत गरिने मञ्जुश्री गुफाभित्र बौद्ध धर्मावलम्बी लामो समयसम्म ध्यान गरेर बस्ने गरेका छन् । 

मञ्जुश्री गुफा जाने बाटो अप्ठ्यारो हुँदा कयौँ पटक लडेर भक्तजनलाई चोटपटक लागेकाले पदमार्ग निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले बताउनुभयो । “मञ्जुश्री गुफामा निर्माण गरिएको पदमार्ग गुणस्तरीय र आकर्षक छ । यसले हलेसी क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि मद्दत गर्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “मञ्जुश्री गुफा पदमार्गमा फोटो, भिडियो खिच्नको लागि मात्रै पनि पर्यटक पुग्ने गरेको छन् । आकर्षक पदमार्गका कारण हलेसीको पर्यटन प्रवर्द्धनमा थप टेवा पुगेको छ ।” 

किरात राई समुदायको उद्गमस्थल तुवाचुङ–जायाजुममा निर्माणाधीन पदमार्गलाई ‘मिनी ग्रेटवाल’ नामाकरण गरेर स्तरोन्नति गर्ने काम भइरहेको नगर प्रवक्ता गिरीले जानकारी दिनुभयो । छ सय ७० लामो मिनी ग्रेटवालको उचाइ एक मिटर २० सेन्टीमिटर तथा चौडाइ ६० सेन्टीमिटरको हुने जनाइएको छ ।  

तुवाचुङ–जायाजुम निर्माणाधीन पदमार्गको काम ९० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि ध्रुव थापाले जानकारी दिनुभएको छ । त्रिधार्मिकस्थल हलेसीस्थित बशाहा गुफा नजिकै निर्माण गरिने माङिखम (तीन चुल्हा)सहितको घरको काम भने शुरु भएको छैन । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायजुममा दर्शन गर्न र भ्रमण गर्न आउने देश÷विदेशका किराती र गैर–किरातीको भीड लाग्ने गरेको छ । हरेक वर्षको उँधौली र उँभौली आर्थात् मङ्सिरे र वैशाखे पूर्णिमामा बृहत् साकेला मेला लाग्ने तुवाचुङ–जायजुममा किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ ।