पुस १८, २०८१ बिहिबार

    चट्टगाँव (बङ्गलादेश), १८ पुस :   मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी हिन्दू भिक्षुलाई बिहीबार बङ्गलादेशको अदालतले पुनः जमानत दिन अस्वीकार गरेको छ ।     
     
 चिन्मय कृष्ण दासलाई नोभेम्बरमा एक ¥यालीमा कथित रूपमा बङ्गलादेशी झण्डाको अपमान गरेको आरोपमा पक्राउ गरिएको थियो र उहाँले राजद्रोहको आरोपको सामना गरिरहनुभएको छ ।     
     
 अघिल्लो जमानत सुनुवाईपछि हिंसा भड्किएपछि सुरक्षा बलले दक्षिणी बन्दरगाह शहर चट्टगाँवमा रहेको अदालतलाई घेरा हालेको थियो । भिक्षुका अनुयायीहरूमाथि सरकारी वकिलको हत्या गरेको आरोप लगाइएको थियो ।     
     
 दासले राजद्रोहको आरोप अस्वीकार गर्नुभएको उहाँका वकिल अपूर्बा कुमार भट्टाचार्जीले बिहीबार बताउनुभयो । तर सरकारी वकिल रेहानुल वाजेद चौधरीले ‘अझ धेरै अनुसन्धान गर्नुपर्ने’ भएकाले जमानतको विरोध गरेको बताउनुभयो ।     
     
 अभियोजन र प्रतिरक्षा दुवैले अदालतले जमानत आवेदन अस्वीकार गरेको बताए । नोभेम्बरमा मारिएका वकिल सैफुल इस्लाम अलिफको परिवारले उहाँको मृत्युसँग सम्बन्धित रहेको भन्दै दुईवटा छुट्टै मुद्दा दायर गरेका छन् ।     
     
 यसमा तोडफोड र विस्फोटक पदार्थ बोकेको आरोपमा ५८ जना हिन्दू वकिल पनि छन् ।     
     
 गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिले स्वेच्छाचारी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि बङ्गलादेशमा धार्मिक सम्बन्ध अशान्त भएको छ ।     
     
 नयाँदिल्लीको हिन्दू–राष्ट्रवादी सरकार हसिनाको प्रमुख समर्थक थियो र अगस्ट ५ मा प्रधानमन्त्रीको दरबारमा आक्रमण गर्दा प्रदर्शनकारीहरूबाट भागेर ७७ वर्षीया हसिना भारतमा निर्वासनमा हुनुहुन्छ ।     
     
 बङ्गलादेशले डिसेम्बरमा भारतलाई हसिनालाई ‘नरसंहार, हत्या र मानवता विरुद्धको अपराध’ को आरोपको सामना गर्न फिर्ता पठाउन अनुरोध गरेको थियो । भारतले अनुरोध प्राप्त गरेको पुष्टि गरेको छ तर थप टिप्पणी गर्न अस्वीकार गरेको छ ।