पुस १८, २०८१ बिहिबार

    पेरिस, १८ पुस:  न्यु अर्लिन्समा नयाँ वर्षको पूर्वसन्ध्यामा रमाइलो गर्नेहरूको भिडमा भएको आक्रमणका लागि बुधबार अन्तर्राष्ट्रिय निन्दा गरिएको थियो । आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।     
     
 यहाँ विश्वव्यापी प्रतिक्रियाको एक संक्षिप्त विवरण प्रस्तुत गरिएको छ ।     
     
– फ्रान्स –     
     
 फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सेली र अङ्ग्रेजी दुवै भाषामा पोस्ट गर्दै एक्समा लेख्नुभएको छ, “फ्रान्सेलीहरूको हृदयमा निकै प्रिय न्यू अर्लिन्स आतङ्कवादको चपेटामा परेको छ ।”     
     
 न्यु अर्लिन्स सुरुमा फ्रान्सका उपनिवेशवादीहरूले स्थापना गरेका थिए र आक्रमण लुइजियाना सहरको प्रसिद्ध फ्रान्सेली क्वार्टरमा भएको थियो ।     
     
 “हाम्रा विचारहरू पीडित र घाइतेहरूका परिवारहरूका साथै अमेरिकी जनतासँग छन्, जसको दुःख हामी साझा गर्दछौँ, म्याक्रोनले भन्नुभयो ।     
     
 सन् २०१६ मा ८६ जनाको ज्यान जाने गरी कार दुर्घटनामा परेर आक्रमण भएको दक्षिणी सहर निसका मेयर क्रिश्चियन एस्ट्रोसीले पनि शोक व्यक्त गर्नुभएको छ ।     
     
 “निसको भगिनी शहर न्यू अर्लिन्सको त्रासदीले हाम्रो आफ्नै दुःखद घटनाको याद दिलायो... नयाँ वर्षको उत्सवको बीचमा ज्यान गुमाएका परिवारहरूप्रति हाम्रो समवेदना”, उहाँले एक्समा भन्नुभयो ।     
     
– बेलायत –     
     
 “न्यू अर्लिन्समा भएको स्तब्धकारी हिंसात्मक आक्रमण भयावह छ”, एक्समा बेलायती प्रधानमन्त्री किर स्टारमरले भन्नुभयो, “यस दुःखद समयमा पीडितहरू, उनीहरूका परिवारहरू, आपत्कालीन प्रतिक्रियाकर्ताहरू र संयुक्त राज्य अमेरिकाका जनताप्रति मेरो समवेदना छ ।”     
     
– चीन –     
     
 “यो हिंसात्मक आक्रमणबाट हामी स्तब्ध भएका छौँ”, बेइजिङका विदेश मामिला प्रवक्ता माओ निङले पत्रकारहरूलाई भन्नुभयो, “चीन सधैँ नागरिकहरूलाई लक्षित गर्ने कुनै पनि हिंसात्मक र आतङ्कवादी कार्यहरूको विरोध गर्दछ, हामी पीडितहरूप्रति शोक व्यक्त गर्दछौँ र उनीहरूका परिवार र घाइतेहरूप्रति सहानुभूति प्रकट गर्दछौँ ।”     
     
– युक्रेन –     
     
 “अमेरिकाको न्यू अर्लिन्समा भएको आक्रमणबाट स्तब्ध छु, जसमा निर्दोषको ज्यान गएको छ र धेरै घाइते भएका छन्”, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक्समा पोस्ट गर्नुभयो, “हामीलाई विश्वास छ कि यस भयानक कार्यका लागि जिम्मेवारहरूलाई न्यायको कठघरामा लगिनेछ भन्ने हामीलाई विश्वास छ । हिंसा, आतङ्कवाद र मानव जीवनका लागि कुनै पनि खतराको हाम्रो संसारमा कुनै स्थान छैन र यसलाई सहन सकिँदैन । हामी पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ... युक्रेन अमेरिकी जनतासँग उभिएको छ र हिंसाको निन्दा गर्दछ ।”     
     
– युरोपेली सङ्घ –     
     
 “न्यू अर्लिन्समा नयाँ वर्ष मनाउनेहरूमाथि जानाजानी भएको आक्रमणबाट म निकै दुःखी छु”, युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कालासले एक्समा पोस्ट गर्नुभयो, “यस्तो हिंसाको कुनै बहाना छैन... हामी यस दुःखद समयमा पीडित र उनीहरूका परिवारसँग पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछौँ ।”     
     
– संयुक्त राष्ट्रसङ्घ –     
     
 संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आक्रमणको ‘कडा निन्दा’ गर्नुभएको र ‘ज्यान गुमाउनेहरूका परिवार र प्रियजनहरूप्रति समवेदना’ प्रकट गर्नुभएको उहाँका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।     
     
 उहाँले घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभयो ।     
     
– जर्मनी –     
     
 “यो न्यू अर्लिन्सबाट आएको डरलाग्दो समाचार हो”, जर्मन चान्सलर ओलाफ स्कोल्जले एक्समा एक पोस्टमा भन्नुभयो, “खुशीसाथ उत्सव मनाइरहेका मानिसहरू अर्थहीन घृणाले जीवनबाट छुट्याइए वा घाइते भए । हामी पीडितको परिवार र साथीहरूसँग शोक गर्दछौँ र सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।”     
     
– इजरायल –     
     
 “न्यू अर्लिन्समा भएको आतङ्कवादी आक्रमणबाट गहिरो दुःख लागेको छ”, इजरायली विदेशमन्त्री गिडियोन सारले एक्समा लेख्नुभएको छ, “पीडित परिवारप्रति मेरो हार्दिक समवेदना छ । दुई घाइते इजरायली नागरिक र सबै घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना गर्दछु... हाम्रो संसारमा आतङ्कवादको कुनै स्थान छैन ।”     
     
– साउदी अरेबिया –     
     
 साउदी अरेबियाले यस आक्रमणको ‘निन्दा र भर्त्सना गर्दछ”, विदेश मन्त्रालयले एक्समा एक वक्तव्यमार्फत भनेको छ ।     
     
– टर्की –     
     
 “अमेरिकाको न्यू अर्लिन्समा भएको आक्रमणबाट हामी निकै दुःखी छौँ”, टर्कीको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “हामी आफ्नो ज्यान गुमाउनेहरूको परिवार र साथीहरूसँग समवेदना प्रकट गर्दछौँ... आक्रमणको उद्देश्य सकेसम्म चाँडै खुलासा हुनेछ र जो जिम्मेवार हुन सक्छन् उनीहरूलाई न्यायको अगाडि जवाफदेही बनाइनेछ भन्ने हामी आशा गर्दछौँ ।”