पुस २२, २०८१ सोमबार

बागमती, २२ पुस : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ । गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा दत्र्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो ।  

    चालु आवमा दर्ता भएकामध्ये चारवटा उजुरी छलफलका क्रममा रहेको न्यायिक समितिका सचिव मिगमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार न्यायिक समितिले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएको आठवटा उजुरीमध्ये पाँचवटा उजुरीको टुङ्गो लगाइएको र दुईवटा उजुरी फिर्ता गरिएको छ । सो गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/७५ देखि नै न्यायिक समिति गठन गरी कार्य गर्दै आएको छ ।

    न्यायिक समितिमा आउने अधिकांश उजुरीहरू जग्गा विवाद, ज्याला नपाएको, पालन पोषण तथा बालीनालीमा क्षति पुर्‍याएको सम्बन्धी रहेको उहाँको भनाइ छ ।

    स्थानीय तहका विवादहरू स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिलाई सम्बन्धविच्छेद, जग्गा विवाद, घर भाडासम्बन्धी, गाईभैँसीले बालीनाली नोक्सानी गरेकोलगायत विवादहरू मेलमिलापमार्फत समाधान गर्ने जिम्मेवारी दिइएको छ । 

    न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिहरूकै सक्रियतामा सम्बन्धित पक्षहरूबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको सचिव लामाले बताउनुभयो ।