भदौ १, २०७८ मंगलबार

सोनी बर्तौला - नेपालमा अझै पनि सार्वजनिक शिक्षा सबैको पहुँचमा पुग्न सकेको छैन । विकट ठाउँका गाउँलेहरूले त विद्यालयको मुख पनि नदेखेका सूचनाहरू बेलाबखतमा बाहिर आउने गरेका छन् । तर भौगोलिक रूपमा विकट कर्णाली प्रदेशको विकट गाउँका एकजना वडाध्यक्ष यसपालि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजाका साथ उत्तीर्ण भएका छन् ।

डोल्पाको काइके गाउँपालिका वडा नं-७ का वडाध्यक्ष रामचन्द्र रोकाया (उत्तम) ले कक्षा १० अर्थात् एईईमा ३.२० जिपिए ल्याएर उत्तीर्ण गरेका हुन् । रोकाया हाल ३५ वर्षका भएका छन् । कतिपय बालबालिकाहरू उमेर बढी भएका कारण विद्यालय जान लजाउने गरेकामा रोकाया प्रेरणाका स्रोत बनेका छन् । जनप्रतिनिधिले नै यसरी शिक्षाप्रति देखाएको ईच्छाशक्तिलाई निकै सकारात्मक रूपमा हेरिएको छ ।

स्थानीय स्तरमा काम गरेको सबैले प्रत्यक्ष देख्ने भएकाले आदर्शका गफ दिनुभन्दा आफैबाट नै कामको थालनी गर्नुपर्ने रोकाया बताउँछन् । ''हामी भौगोलिक रूपमा त विकट ठाउँमा बस्यौँ तर हाम्रो चेतनाको स्तर निकै समथर र फराकिलो बनाउनुपर्छ, यसले नै नागरिकको जीवनस्तर उकास्न थप हौसला प्रदान गर्दछ ।'' उनले नेपालमार्गसँग भने ।

रोकायाको प्रसंशा गर्दै धेरैले सामाजिक सञ्जालमा 'औपचारिक शिक्षास्तर बढाउँदै जानुहोला' भन्दै बधाइसमेत दिएका छन् । यस्तै सामाजिक अभियन्ता भीम उपाध्यायले पनि विकट जिल्लामा जन्मिएकाले बेलामा पढ्न नपाए तापनि अब पढ्ने दृढ ईच्छाका साथ अरूका लागि पनि प्रेरणाको स्रोत बनेको भन्दै रोकायाको प्रसंशा गरेका छन् ।

यसैगरी रोकायाले त्यहाँस्थित एक गुम्बामा सोलार प्यानल सहयोग गरेका छन् । विद्युत् पुग्न नसकेको सोही ठाउँको छोसुर पालरी गुम्बाको उज्यालाका लागि १ हजार वाट क्षमताको सोलार प्यानलसमेत प्रदान गरेकाे मोल्म लामाले जानकारी दिएका छन् ।