पुस २३, २०८१ मंगलबार

काठमाडौँ, २३ पुसः विसं २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भूकम्प हुँदा क्षतिग्रस्त निजी आवासको प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापनाको  विस्तृत विवरण सम्बन्धित स्थानीय तहको नेतृत्व स्थानीय तहका प्राविधिकमार्फत सङ्कलन गर्ने निर्णय भएको छ । 

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक सहयोग, सहजीकरण र समन्वयमा यथाशक्य चाँडो विवरण सङ्कलन सुरु गरिने प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हालैको बैठकले ‘विपद प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि, २०८१’ लाई पुस १६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा पश्चिम नेपाल भूकम्प तथा मनसुनजन्य विपद् पुनर्लाभ कार्ययोजनामा छलफल भएको र अर्काे बैठकको निर्णयपछि पुनर्निर्माण  तीव्र गतिमा थालिने छ ।