पुस २८, २०८१ आइतबार

टीकापुर (कैलाली), २८ पुसः  टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको  छ । टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क रु २० राख्ने निर्णय  भएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “उद्यान घुम्न आउने अधिकांशले तत्कालीन राजा वीरेन्द्र बसेको घर कस्तो छ भनी हेर्न इच्छुक  व्यक्त गर्ने भएकाले बाटिका सर्वसाधारणको अवलोकनका लागि आगामी माघ महिनादेखि खुला गर्न लागेका हौँ ।” विसं २०४३ मा बनेको वीरेन्द्र विश्राम बाटिकामा १२  कोठा छन् । तत्कालीन समयमा तत्कालीन राजा वीरेन्द्र बेला बेलामा टीकापुर आउँदा यही बाटिकामा बस्ने गरेको बताइन्छ ।