पुस २९, २०८१ सोमबार

डुम्रे (तनहुँ), २९ पुसः  तनहुँ महोत्सव स्थानीय उत्पादन प्रवर्द्र्धनको माध्यम बनेको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले स्थानीय किसानका उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणका लागि सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको महोत्सव बजारीकरणको माध्यम बन्दै गएको हो । 

    सङ्घ जिल्लाका १० वटै पालिकाका दुर्गम क्षेत्रमा उत्पादित कृषिउपजलाई सदरमुकाम दमौलीमा ल्याएर बिक्रीको व्यवस्था मिलाएको छ । सङ्घले स्थानीय उत्पादन सदरमुकाम तथा महोत्सवसम्म पालिकाको समन्वयमा निःशुल्क ढुवानी र दमौलीमा बिक्रीका लागि निःशुल्क कक्ष  उपलब्ध गराएको छ । 

    व्यास नगरपालिका–११ तनहुँसुरका सुन्तला किसान केबी थापाले सङ्घले महोत्सवमार्फत निःशुल्क कक्ष उपलब्ध गराएकाले सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले प्रत्यक्ष रुपमा आफ्ना उत्पादन बिक्री गर्दा उचित मूल्य पाएका छौँ, महोत्सवले मात्रै नभई अब तीनै तहको सरकारले पनि यस्ता कदम अगाडि बढाउन आवश्यक छ ।”

    व्यास–५ ढोडेनीस्थित माँ अम्बे अलौकिक कृषि फर्मका सञ्चालक कल्पना गौलीले महोत्सवका माध्यमबाट आफ्नो उत्पादन बिक्री भइरहेको बताउनुभयो । उहाँले महोत्सको माध्यमबाट उत्पादित कृषि उपजको प्रचारप्रचारमा टेवा पुगेको धारणा व्यक्त गर्नुभयो । 

    उहाँले भन्नुभयो, “युवालाई कृषि पेसामा टिकाउनका लागि प्रत्यक्ष रुपमा आफ्ना सामग्री बेच्ने व्यवस्थापन गर्न सरकारले योजना बनाउनुपर्छ, यसले युवालाई वैदेशिक रोजगारीमा जान घटाउनेछ ।” अहिले वैदेशिक रोजगारीमा जाने युवा बढ्दो छ, यसको न्यूनीकरणका लागि तीनै तहका सरकारले बिचौलिया हावी हुने अवस्था अन्त्यका लागि पहल गर्न आवश्यक छ । 

    तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको सहआयोजनामा यही पुस २५ गतेबाट सुरु भएको नवौँ तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा किसान तथा घरेलु हस्तकलाका सामग्री बिक्रीका  लागि ४० वटा प्रदर्शनी कक्ष निःशुल्क उपलब्ध गराएको छ । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ कृषि र पर्यटनलाई पहिलो प्राथमिकता राखिए अनुरुप नै प्रदर्शनी कक्ष निःशुल्क उपलब्ध गराइएको छ ।  

    किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नुपर्नेलगायत समस्याले जमिन बाँझिने क्रम बढेकाले कृषि पेसा संरक्षण, सहयोग र स्थानीय उत्पादन प्रवर्द्धनका लागि निःशुल्क प्रदर्शनी कक्ष उपलब्ध गराइएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक बैकुण्ठनाथ मिश्रले जानकारी दिनुभयो । 

    “यहाँका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्देश्यले महोत्सव गरिएको हो”, उहाँले भन्नुभयो । 

    किसानलाई प्रोत्साहन गर्न उत्कृष्ट किसानलाई सम्मान गरिने उहाँले बताउनुभयो । कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नुका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने महोत्सवको लक्ष्य छ । 

    महोत्सवमा कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्री प्रदर्शनी गरिएको छ । साथै दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपन्क्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगायतका मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गरिएको जनाइएको छ ।