माघ १०, २०८१ बिहिबार

मुग्लिन (चितवन), १० माघः रत्ननगर नगरपालिका–  ६ मा रु दुई करोड २९ लाख ४३ हजर पाँच सय १८ को लागतमा   प्रहरीचौकी भवन निर्माण भएको छ । 
नवनिर्मित तीनतले भवनको बुधबार बागमती प्रदेशका आन्तरिक  मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले नवनिर्मित भवनको  उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले  प्रहरीका  लागि आवश्यक भौतिक संरचना निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
 
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले पर्यटकीय गन्तव्य चितवनको राष्ट्रिय निकुञ्जसँग जोडिएको रत्ननगर नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ नम्बर वडाको शान्ति सुरक्षा हेर्ने गरी स्थापना गरिएको प्रहरीचौकीबाट स्थानीय लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

 कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, रत्ननगर नगरपालिका प्रमुख प्रह्लाद सापकोटा, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलगायत उपस्थित हुनुहुन्थ्यो ।