माघ १४, २०८१ सोमबार

काठमाडौँ, १४ माघः दोस्रो विश्वयुद्धका बेला भएको वीभत्स नरसंहार पुनः नदोरियोस् र विश्वमा भ्रातृत्व, प्रेम एवं सद्भाव कायम होस् भन्ने उद्देश्यले आज विश्वभर होलोकास्ट स्मृति दिवस मनाइँदै छ । 

संयुक्त राष्ट्रसङ्घ महासभाको प्रस्ताव ६०÷७ ले २७ जनवरीलाई होलोकास्टका पीडितहरूको सम्झनामा वार्षिक अन्तर्राष्ट्रिय स्मृति दिवसको रूपमा तोकेको हो । यो दिवस  न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालय र विश्वभरका राष्ट्रसङ्घ कार्यालयहरूमा विविध कार्यक्रमका साथ मनाइन्छ । होलोकास्टमा ६० लाखभन्दा बढी यहुदी मारिएका थिए । 

    यहाँस्थित इजरायली, संयुक्त राज्य अमेरिका र सङ्घीय गणतन्त्र जर्मनीको राजदूतावासले आज यहाँ संयुक्त रुपमा स्मृतिसभा आयोजना गर्ने इजरायलका राजदूत श्मुलिक आरी बासले राससलाई बताउनुभयो ।