अत्तरिया (कैलाली), १४ माघः राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पछिल्लो समय भुइँमान्छेका समाचार आउन छाडेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाली पत्रकारितामा पछिल्लो समय स्रोत हाबी हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “म समाचार हेर्छु, समाचारका विषयवस्तुको विश्लेषण गर्छु । समाचारमा भुइँमान्छेका कुरा आइरहेका छैनन् । पत्रकारितामा स्रोत हाबी भइरहेका छ । पत्रकारितामा पत्रकार हाबी हुनुपर्ने थियो । विविध समस्या, सीमितताका नाममा त्यो हुनसकेको छैन ।”
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका झाले पछिल्लो समय नेपाली पत्रकारिता ट्रयाकभन्दा बाहिर जान खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको पत्रकारिता जुन ट्रयाकमा रहनुपर्ने हो, त्यो ट्रयाकमा रहन खोजिरहेको छैन कि भन्ने मलाई लागिरहेको छ । जसका लागि पत्रकारिता गर्नुपर्ने हो त्यसका लागि नगरेर बाँकी सबैका लागि गरिँदैछ भन्ने मलाई लागिरहेको छ ।”