माघ १४, २०८१ सोमबार

विराटनगर, १४ माघ : कोशी प्रदेशसभाको आज बैठकमा प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१को पाँचौँ वार्षिक प्रतिवेदन पेस भएको छ ।

    कोशी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रतिवेदन सदनमा पेस गर्नुभएको थियो । 

    सभामा उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले प्रदेश बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा यो ऐनले उत्पादन र उत्पादकत्व बढाउन मद्दत गर्ने बताउनुभयो ।

    कृषि क्षेत्रको समग्र विकास गरी वर्सेनि भोग्नुपर्ने मलखाद र बीउको समस्या समाधान गर्न ऐन प्रभावकारी हुने बताउँदै उहाँले गुणस्तरीय बीउ उत्पादन, भण्डारण, प्रशोधन गरी किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन मद्दत गर्नुपर्नेमा जोड दिनुभयो ।

    स्वदेशी बीउ प्रयोग गरे जोखिम कम हुने र भइ नै हालेमा क्षतिपूर्तिका व्यवस्था प्रदेश सरकारले गर्ने बताउँदै यो ऐनबाट किसान प्रोत्साहित हुने उहाँले बताउनुभयो ।

विशेष समय

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका तर्फबाट उपनेता तिलकुमार मेन्याङ्बोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको घटनापछि सबै पक्षले संयमता अपनाउनुपर्ने बताउनुभयो ।

    उहाँले घटनापछिको अवस्थालाई बिग्रन नदिन प्रहरी प्रशासनले बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताउँदै अब थप पीडा हुने काम कसैले नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भाँच्चिनुभन्दा निहुरिनु राम्रो हो, दुवै पक्ष सहमति, सहकार्य र एकताबाट अघि बढ्नुपर्छ ।”

    विशेष समयमा सोही सन्दर्भमा बोल्दै नेपाली कांग्रेस संसदीय दलको तर्फबाट मैया श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको तर्फबाट  खिनु लङ्वा लिम्बूले पाथीभरा मुक्कुम्लुङ धार्मिक एवं सांस्कृतिक क्षेत्र भएकाले थप तनाव सृजना हुने काम कसैले नगरी वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने बताउनुभयो । उहाँहरुले घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था सरकारले गर्नुपर्ने माग गर्नुभयो । 

    विभिन्न समयमा सदनमा उठेका जिज्ञासाको सन्दर्भमा भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले नागरिक जीवनमा प्रत्यक्ष रुपमा जोडिने स्वास्थ्य क्षेत्रमा सुधार गरेको बताउनुभयो । उहाँले कडा रोग लागेका बिरामीका लागि प्रदेश सरकार स्वास्थ्य सहायता रकम जुटाउने विषयमा गत वर्षमा तीन हजार दुुई सय ३४ निवेदन परेकामा पाँच सय जनालाई रु पाँच करोड वितरण भएको जानकारी दिनुभयो । 

    उहाँले यसवर्ष पनि दुई हजार सात सय ३४ निवेदन परेकामा रु पाँच करोड नागरिक सहायता कोषमा रहेको र थप रु नौ करोड सङ्घीय सरकारसँग माग गरेको बताउँदै सम्भवत यही माघको अन्तिमतिर सम्बन्धित व्यक्तिको खातामा ५० प्रतिशत रकम पठाउने तयारी मन्त्रालयले गरेको बताउनुभयो ।

    मन्त्री राईले धनकुटामा स्त्री रोग विशेषज्ञ एक÷दुई दिनमै पठाउने, सुनसरीको इनरुवा अस्पतालसहित अन्य अस्पतालको स्तरोन्नति गरी आमनागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउन सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

शून्य समय

    शून्य समयमा प्रदेशको समसायिक विषयमा कोशी प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, मीना श्रेष्ठ, रामप्रसाद मेहता, खगेश्वरी पौडेल, सुनिता गच्छदार चौधरी, इस्राइल मन्सुरी, गोपालबहादुर विश्वकर्माले बोल्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।