घोराही (दाङ), १५ माघः यहाँका महिला सीप सिकेर आयआर्जन गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१४ स्थित स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रमा महिला सीप सिकेर स्वरोजगार बन्न थालेका हुन् ।
अहिले यहाँ एकमहिने होजियारी सीपमूलक तालिम सञ्चालन भइरहेको छ । यो तालिम सञ्चालनका लागि उपमहानगरपालिकाले रु दुई लाख आर्थिक सहयोग गरेको छ । त्यसले गर्दा निःशुल्क रुपमा सीप सिक्न पाउँदा महिला उत्साहित भएका छन् । आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सीप सिक्दै आएको घोराही–१३ की चम्फा चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।” यसअघि उहाँले सुइटर, टोपी, मोजालगायत बुन्न सिकिसकेको बताउनुभयो । विगत एक वर्षदेखि उद्योगमा जोडिनुभएका उहाँले ‘डिजाइनर’ समेत भएर अरूलाई सिकाउन थाल्नुभएको छ ।
प्रशिक्षण केन्द्रले बेरोजगार महिलालाई स्वरोजगार बनाउनका लागि ऊनबाट बन्ने घर सजावटका सामग्री, खेलौनालगायत सामग्री बुन्ने सीप प्रदान गरेको छ । केन्द्रमार्फत अन्य समयमा पनि विभिन्न बुनाइसम्बन्धी सीपयुक्त तालिम सञ्चालन भइरहन्छ ।
ऊनबाट निर्माण हुने विभिन्न प्रकारका डल बुनेर देशबाहिर पठाउने गरेको उहाँले बताउनुभयो । “यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ”, उहाँ भन्नुभयो, “सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ ।” यसअघि चुलोचौको र पानी पँधेरामा सीमित हुने महिलाले सीप सिकेर आयआर्जन गरी आत्मनिर्भरको बाटो रोजेका छन् ।
घोराही–१४ की ३० वर्षीया अनिता डाँगी पनि तालिममा सहभागी हुनुभएको छ । अघिपछि घरमा त्यसै बस्दा आर्थिकरुपमा कसरी सशक्त हुन सकिन्छ भन्ने मात्रै सोचाइ आउँथ्यो तर अहिले व्यस्त हुँदा कुनै नकारात्मक कुरा सोच्न समय नहुने गरेको उहाँले बताउनुभयो ।
उद्योगबाट धेरै कुरा सिक्न पाएको उहाँको भनाइ छ । फुर्सदको समयलाई सीपमूलक काममा लगाइयो भने जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको आशा रहेको छ । महिलालाई आत्मनिर्भर बनाउन स्वप्न होजियारी उद्योग एवं प्रशिक्षण केन्द्रका प्रमुख प्रशिक्षक रचना सुवेदीेले सीप सिकाउँदै आउनुभएको छ । केन्द्रमा हाल १२ महिलाले सीप सिक्दै आएका छन् । प्रशिक्षक सुवेदी सीप सिकेर व्यावसायिक रुपमा अगाडि बढाउन प्रशिक्षार्थीलाई आग्रह गर्नुहुन्छ ।
सिकेको सीपले बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने उहाँको अनुभव छ । “सुवेदीले सीप सिकेर उत्पादन गरेका वस्तु बिक्रीका लागि जिल्लामा बजारको केही समस्या छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले यसको बजारीकरणका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो ।” हाल यही समस्या रहेकाले मुख्य कुरा बजारीकरणका लागि हरेक निकायले पहल गरिदिए सहज हुने उहाँको भनाइ छ ।
साथै आयआर्जन न्यून भएका धेरै महिला सीप सिक्नबाट वञ्चित हुने हुँदा अहिले स्थानीय सरकारको सहयोगमा सीप प्रदान गर्न सहज भएको उहाँ बताउनुहुन्छ । कतिपय महिलाले सीप सिक्न आउँदा दैनिक मजदुरी नै छुट्ने समस्या बताउने गरेको प्रशिक्षक सुवेदी बताउनुहुन्छ । प्रशिक्षक सुवेदीले २०६९ सालदेखि प्रशिक्षकको काम गर्दै आउनुभएको छ ।
एक महिनासम्म महिलालाई ऊनको धागोबाट विभिन्न प्रकारका खेलौना तथा घर सजावटका सामग्री बुन्न सिकाउने उहाँको भनाइ छ । तालिमपश्चात् प्रशिक्षार्थीले उत्पादन गरेका सामग्रीलाई आफूले काठमाडौँ लगेर बजारीकरण गरिदिने उहाँ बताउनुहुन्छ ।