भदौ ४, २०७८ शुक्रबार

आदरणीय मित्रहरू !
सात दशकको अविच्छिन्न प्रयासबाट स्थापना भएको पार्टी र निष्ठावान् एमाले कार्यकर्ताहरूलाई परेको मानसिक पीडा, सांगठनिक क्षति, विश्वासघात, आशा र आत्मविश्वास उजाडिएको देख्दा हामी गैर एमालेजनहरू एमालेका होनहार कार्यकर्ताहरूको पीडालाई नजरअन्दाज गर्न सक्दैनौँ र त्यसो गर्नु राजनीतिक बेइमानीबाहेक केही हैन।
 
इतिहासको निर्मम समीक्षा गर्ने हो भने नेपाली कांग्रेस, नेकपा माओवादी, मधेशवादी तथा पहिचानवादी राजनीतिक दलहरूको स्थापना, प्रतिक्रियात्मकता र प्रतिद्वन्द्वीतामा आधारित देखिन्छ ; परिणाम निशेध गरिएको प्रवृत्तिकै देखिन्छ  । उसै पनि नेपाली राजनीतिमा एउटा भनाइ गजब लाग्छ - माओवादी बिग्रियो भने एमालेजस्तो हुन्छ, एमाले बिग्रियो भने कांग्रेसजस्तो हुन्छ र कांग्रेस बिग्रियो भने 'न हाँसको चाल, न बकुल्लाको चाल' हुन्छ । खासमा हिजोआज त्यस्तै भएको र देखिएको छ । 

कांग्रेसी नेतृत्त्वमा राणा बन्ने प्रवृतती र नेकपाका नेतृत्त्वमा राजा बन्ने प्रवृत्ति हावी भयो । पहिचानवादी तथा जनजातिवादीहरूको स्वभाव पनि उही र उस्तै छ । बैकल्पिक भनिएका दलहरू पनि त्यसभन्दा माथि उठ्न सकेका छैनन् ।

लोकतन्त्रको ७ दसकको इतिहासमा युरोप, अमेरिका, इन्डिया र चिनका स्याटलाइट पार्टीमात्रै स्थापना र क्रियाशील भएका छन् । अझै पनि नयाँ दिल्लीमा पानी पर्दा काठमाण्डौँमा छाता ओढ्ने, बेइजिङमा पानी पर्दा काठमाण्डौँमा छाता ओढ्नेहरूकै हालिमुहाली छ । बरु थपिएका छन् ; युरोप, दक्षिण-पूर्वी एसिया तथा अमेरिकालाई आदर्श मान्ने पार्टीहरू ! नेपालको जग बसाउने पृथ्वीनारायण शाहलाई सामन्त देख्ने तर नेपालको इतिहासमा गोरु बेचेको पनि साहिनो नभएका कार्ल मार्क्र्स र गान्धीलाई आदर्श मान्ने प्रवृत्ति ऐतिहासिक भुल हो । यद्यपि मार्क्र्स र गान्धी निशेधका पात्र हैनन्, तिनको सम्मान आवश्यकताबमोजिम गरौँला !

सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, आधारशिला चतुष्टय, स्थिति-गत्यात्मक प्रगतिवादको दिव्य ज्योतिले पुनः एक पटक नेपाललाई केन्द्रविन्दु बनाएर विश्वलाई मार्गनिर्देशन गर्ने दीर्घकालीन लक्ष्य राखेर जरोकिलो महाअभियानको सङ्कल्प र आह्वान गरिएको घटना ऐतिहासिक उपलब्धी मान्नुपर्दछ । जरो र किलो नेपालमै भएको  मौलिक रैथाने शक्तिको उत्तराधिकारी संस्था मौलिक जरोकिलो पार्टी स्थापना भएको छ र जरोकिलो महाअभियानबाट मौलिकताको विश्वव्यापी सङ्कथन गरेको छ । त्यसको प्रभाव नेपालमा गुणात्मक ढङ्गले परेको र जरोकिलो बहस र सैद्धान्तिक आवस्यकता सर्वत्र देखिनुले आशा र आत्मविश्वास बढाएको  छ ।

राज्यको नेतृत्व गरेको पार्टी झण्डै दुईतिहाइ नजिक पुगेर स्थायित्व, विकास र समृद्धिको ऐतिहासिक प्रगति देख्नुपर्ने वेलामा नेतृत्वको जुँगाको लडाइँले चार बल्ड्याङ खाएर पार्टीको अस्तित्व मात्रै धराशायी भएको छैन, नेपाली जनताको आशा र आत्मविश्वासमा पनि तुसारापात भएको छ । ठूला पार्टीहरूको कमजोर संगठन संरचनाले पार्टीलाई मात्रै क्षति पुर्‍याउँदैन ; देश र समाजको प्रगतिमा ठूलो प्रश्न चिह्न लाग्दछ । 

२०४८ सालमा नेपाली कांग्रेसको आन्तरिक कलह थिग्रिएर स्थिरता र स्थायित्वको आशा नेकपाको ऐतिहासिक सफलताबाट पलाएको थियो । हेर्दाहेर्दै उही कारण, उही प्रवृत्ति, उही मानसिक दरिद्रता, उही कुण्ठा, उही हठ, उही पात्रता र उही पात्रको पुनरावृत्तिले समस्या अवस्थामा मात्रै रहेनछ व्यवस्थामा पनि रहेछ भन्ने निश्कर्षमा पुग्न अबेर नगरौँ ।

एमालेका होनहार निष्ठावान् कार्यकर्ताहरूसँग वैचारिक सैद्धान्तिक विमती छन्, यद्यपि यहाँहरूको स्वच्छ छवि, निस्कलङ्क व्यक्तित्व, उदार चरित्र र आत्मीय व्यवहारलाई सम्मान छ ।  कम्युनिस्ट व्यवस्थामा असाध्यै धेरै सीमितता छँदै छन् । जीवनभर पूँजीवादी व्यवस्थालाई प्रतिस्पर्धी र प्रतिद्वन्द्वी व्यवस्था भनेर पढियो- सिकाइयो- प्रशिक्षण गरियो तर अन्त्यमा कम्युनिस्ट व्यवस्थामा त्यही वैभेद्य पूँजीवादी व्यवस्था घालमेल गर्दा विषाक्त कपुतन्त्र बनेको निष्कर्षमा पुगेपछि कम्युनिस्ट, पूँजीवाद तथा कपुतन्त्रीय व्यवस्था नेपाली समाज र नेपाल राष्ट्रका लागि अभिशाप रहेछ भन्ने निस्कर्षमा पुग्न ढिलो नगरौं । तपाईँहरूले अझै आशा र आत्मविश्वास राख्नू, तपाईँहरूको विशिष्ट पार्टी धर्म हो - अझै प्रयास गरेर पार्टी एकीकरण जोगाउनुहोस् । शुभकामना छ । तर समाज र समयको मागचाहिँ कपुतन्त्रको समूल नष्ट गरेर स्वदेशी स्वधर्मी मौलिक प्रतिमान स्थापनाको छ ।

अर्को महत्वपूर्ण राजनीतिक स्खलन, विशिष्ट नेतृत्व, सामुहिक कर्तृत्व र संस्थागत स्वामित्वबाट विचलित भएर सामुहिक नेतृत्वलाई आदर्श व्यवस्था मान्नुमा पनि छ । नीतिचाहिँ सामुहिक नेतृत्वको लिने, व्यवहारचाहिँ विशिष्ट नेतृत्वको गर्न खोज्दा नीति र कर्ममा असंयता देखियो । जसका कारण नेकपाले त ठूलो क्षति बेहोर्‍यो, अर्को व्यवस्थाले प्रतिस्थापन नगरुन्जेलको अवस्थामा अग्रगामी र प्रतिगामीको संघर्षमा घोर दक्षिण पन्थले प्रतिस्थापन नगरोस् भनेर आसा गर्न सकिन्छ तर विश्वास गर्ने वातावरण छैन ।
 
जनवादी केन्द्रीयता, सर्वहाराहरूको अधिनायकत्व, राज्यको निर्णय निर्माणको बागडोर कम्युनिस्ट कार्यकर्ताहरूको अधिनमा राखेर अधिनायकवाद लाद्ने कम्युनिस्ट विचारधारा गतार्थ/असान्दर्भिक भएको हो ।

कम्युनिस्टवादमा पूँजीवाद मिसाउने, बहुदलीय जनवादी र  पूँजीवादमा कम्युनिस्टवाद मिसाएर, प्रजातान्त्रिक समाजवादीहरूको अनौठो संयोग समाजवादउन्मुख अर्थतन्त्रमा मतैक्यता देखेपछि यिनीहरू उही मुलाका सिन्की, उही मुलाका चाना रहेछन् भन्ने पनि हाल देखिएको छ । निर्मम भएर समीक्षा गरौँ - संसारमा अनुसरण गर्नेहरू पिछलग्गु मात्रै भएका र स्वकृयात्मक अग्रसर हुनेहरू मात्रै अग्रणी भएका छन् ।

पूँजीवादको समूल नष्ट गरेपछि मात्रै समाजवाद स्थापना हुन्छ भनेर भाषण गर्ने नेताहरू तथा विश्वविद्यालयमा पढाउने प्राध्यापकहरूले वैभेद्री,  प्रतिस्पर्धी र प्रतिद्वन्द्वी कम्युनिस्टवादमा पूँजीवाद पनि मिसिएपछि बनेको कपुतन्त्र(एमाले र नेपाली कांग्रेस, जनता समाजवादी, पहिचानवादी तथा वैकल्पिक वादीहरू) पार्टी अझ विषाक्त भएका हुन् । निर्मम भएर सोचौँ - पहिलै हामीले सदस्यता लिएको पार्टी, बाउबाजेदेखिको खान्दानी पार्टी भनेर आशा र आत्मविश्वास गर्न सकिन्न । आशा र आत्मविश्वास नै नभएको ठाउँमा आत्मियता प्रवर्द्धन गर्न पनि सकिन्न ।

देशको मूलधारमा प्रहार गरेर प्राचीनताबाट अविच्छिन्न तर स्थिति-गत्यात्मक भएर प्रगति गर्दै गरेको ज्ञान परम्परामाथि आक्रमण गर्न सिकाएर पूजा गर्नुपर्ने व्यक्तिलाई लल्कार्न/दुत्कार्न सिकाएर र त्याग्नुपर्ने व्यक्त्तिलाई पुज्न/भक्ती गर्न सिकाएर नयाँ पुस्ताको भाग्य र भविष्यमा खेलवाड गर्ने कपु तन्त्रीय गुटका नेपाल हुन् कि, ओली हुन् ? प्रचण्ड हुन् कि, देउवा हुन्… ? निर्ममतापूर्वक त्याग्नु नै श्रेयस्कर हुन्छ।

हाम्रो अस्तित्व त अस्थायी छ, पार्टी सदस्यताको के कुरा ? विकल्प नहुँदा, त्यस बेलामा नेका/नेकपाको आवस्यकता पर्‍योहोला समाजलाई ! तिनले नकारात्मक मात्रै गरे भनेर नजरअन्दाज गर्नु बेइमानी हुन्छ । यिनकै कारण जहानियाँ राणा शासन तथा निरंकुश पञ्चायती व्यवस्था अन्त्य भयो, राजा ज्ञानेन्द्रको निरंकुशता पनि अन्त्य भयो तर समाजका समस्या र उल्झनहरू ज्युँकात्युँ छन् । यिनीहरू समाजको परिवर्तन गर्न सक्ने तर समाज प्रवर्तन गर्न नसक्ने शक्ति हुन् भनेर चिन्न ढिलो गर्‍यौँ भने अर्को भुल हुन्छ ।  हामीले समय सँगसँगै आफूलाई पनि रूपान्तरण गर्दै अघि बढ्नुपर्छ। द्वन्द्वात्मक भौतिकवादकै मार्गमा छन् नेतृत्वहरू, सामुहिक नेतृत्वकै संगठन पद्धतिमा छन् नेताहरू…राजनीति गरेको भेडाबाख्रा चराउनलाई हो त? अझै उमेर छ। ब्रम्हनालमा रहँदा पनि पार्टीको अध्यक्ष, बहालवाला मन्त्री, प्रधानमन्त्री भइएन भने जीवन जिउनु र कम्युनिस्ट हुनुको के मजा ?

एमाले पार्टीको  दुरवस्था र यो समस्याको चक्रचक्रब्युहमा फस्नुमा माधव नेपाल र केपी ओलीको ४९/४९ प्रतिशत दोष छ । २% दोषीचाहिँ निष्ठावान् कार्यकर्ता जसले एउटा एउटा गुटमा लागेर नेतृत्वको विचलनमा सहयोग पुर्‍याउनेहरू छन् । उनीहरूले आफू कुनै अमुक व्यक्तिको मान्छे हुँ भनेर ऊर्जावान् समय खेर फाले । फरक फरक गुटको प्रतिरक्षा गरे । नेकाले एमालेको घर भाँडिएकामा खुसी मानेर बस्नु स्वाभाविक हो तर कारण, प्रवृत्ति र रोग उही राखेर पुगिने गन्तव्य कसरी फरक र विशिष्ट हुन्छ ?

हाम्रो मौलिकता विशिष्ट नेतृत्व हुनुपर्ने तर सामुहिक नेतृत्वको अभ्यासको यति नाटक र नौटन्कीपछि 'मिले पनि उहीँ, फुटे पनि उही टुङ्गो' हो । फुट्न बाँकी र फुटिसक्नेहरूको पनि गन्तव्य उही हो । समुद्रको यात्रामा डुब्न लागेको डुङ्गामा सवार गर्दा डुङा पल्टिनै लागेका बेला डुबेर मर्नुभन्दा समुद्रमा फामहाल्नु श्रेयस्कर हुन्छ । डुङ्गामै बसे डुबेरै मर्ने निश्चित छ तर समुन्द्रमा फालहाले केही समय पौडी खेल्दा नजिकै कहीँ टापु फेला पर्न सक्छ अथवा उद्धारकर्ताहरू पनि आइपुग्न सक्छन् । विवेकशील भएर स्थिति-गत्यात्मक प्रगतिको निर्णय लिन बिलम्ब नगरी एउटा निर्णयमा पुग्नुहोस्, शुभकामना छ !

(लेखक मौलिक जरोकिलो पार्टीका सर्वोच्च परिषद् सदस्य हुनुहुन्छ ।)