हेटौँडा, १९ माघः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल, मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले समेत नेपालको स्वाधीनताको रक्षा गर्नु चुनौतीपूर्ण देखिएको भन्दै यस्तो जिकिर गर्नुभएको हो ।
महासचिव गुरुङले मुलुकको स्वाधीनताको रक्षा गर्न सोही अनुसार परराष्ट्रनीति अङ्गीकार गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । यसैगरी, उहाँले संसद्लाई छलेर अध्यादेश ल्याउने सरकारको काम ठीक नभएको बताउनुभयो ।