काठमाडौँ, १९ माघः नेपाली गद्य कविताका प्रणेता र नेपाली समस्यामूलक नाटकका प्रथम प्रयोक्ता स्व गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवीको निधन भएको छ । मस्तिष्काघात भई उपचारका लागि कलङ्कीस्थित शुभेच्छा अस्पतालमा भर्ना हुनुभएकी ९३ वर्षीया उहाँको गत बिहीबार बिहान निधन भएको छोरा मदन रिमालले जानकारी दिनुभयो ।
राजनीतिज्ञ तथा राणाशासन विरोधी जागरणकर्ता रिमालको भने विसं २०३० कात्तिक ८ मा निधन भएको थियो । उहाँका ‘मसान’ र ‘युगप्रेम’ नाटक तथा ‘आमाको सपना’ कविता नेपाली साहित्य विधामा प्रख्यात छन् । कवि रिमालले विसं २०१९ मदन पुरस्कार र २०३० मा त्रिभुवन प्रज्ञा पुरस्कार प्राप्त गर्नुभयो ।
उहाँले रचना गर्नुभएको ‘रातो र चन्द्रसूर्य जङ्गी निशाना हाम्रो’ बोलको गीतलाई नेपाली सेनाले सङ्गठनको शीर्ष गीतका रूपमा प्रयोग गर्दै आएको छ । नेपाली सेनाले स्व रिमाललाई २०६८ मरणोप्रान्त मानार्थ महासेनानीको दज्र्यानी प्रदान गरी सम्मान गरेको थियो । उहाँका चारमध्ये हाल तीन छोरा हुनुहुन्छ ।
कवि रिमालको साहित्य साधनामा उहाँकी धर्मपत्नी हरिदेवीको भूमिका पनि प्रशंसनीय रहेको साहित्यकर्मीहरूले बताउने गरेका छन् ।