भदौ ४, २०७८ शुक्रबार

वीरगञ्ज – स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेमा गौर नगरपालिका–४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी गरुडा नगरपालिका–१ जयनगर बस्ने ३५ वर्षीय अनिल भन्ने विकास साह छन्।

सीमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इशनाथ नगरपालिका– १ बंजरा टोलबाट दुबै जनालाई पक्राउ गरेको हो।

बा ३९ प १६९१ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा दुवै जनाको साथबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको रौतहटका प्रहरी प्रवक्ता नारायणप्रसाद चिमरियाले जानकारी दिए।

भारतीय रुपैयाँसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको चिमरियाले बताए।