लमजुङ, २० माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको राष्ट्रिय एकता बलियो बनाउने उद्देश्यले सामाजिक सञ्जाल विधेयक, २०८१ ल्याइएको बताउनुभएको छ ।
आज बेँसीसहरमा नेपाल प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटनका अवसरमा उहाँले लोकतन्त्रको मूलभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको अभिव्यक्ति सिद्धान्तलाई आत्मसात गर्न र त्यसलाई थप व्यवहारिक रुपमा प्रभावकारी बनाउन उक्त विधेयक ल्याइएको बताउनुभयो ।
“विधेयक संसद्मा पेस भएको छ, त्यहाँ आवश्यक छलफल हुने नै छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन विधेयक ल्याइएको हो ।” सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न खोजिएको उल्लेख गर्दै उहाँले नियन्त्रण गर्ने उद्देश्य नभएको स्पष्ट पार्नुभयो ।
“मौलिक हकका रुपमा रहेको सूचनाको हकलाई कुण्ठित हुने विषयमा सरकार सचेत छ, जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रतासम्बन्धी कुण्ठित नहुने गरी विधेयक पेस गरिएको छ”, उहाँले भन्नुभयो । उहाँले प्रेस चौतारीले मुलुक र समाजका लागि खेलेको भूमिका राम्रो रहेको भन्दै प्रशंसा गर्नुभयो । पत्रकारहरुले लोकतन्त्रका पक्षमा रहेर समृद्धि, सभ्य समाज निर्माणका लागि लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।