भदौ ५, २०७८ शनिबार

सवितु:

गरिब केटालाई धने भनेर बोलाइन्छ
कालो वर्णको केटालाई गोरे भनेर बोलाइन्छ
हेरेर उसलाई हेय भाव राखिन्छ

राजनीति पनि ठ्याक्कै उल्टो छ-

पार्टी फुटाएपछि नाम एकीकृत राखिन्छ
साझा भनिएकाहरूमा एक व्यक्ति हाबी छ
विवेकशील भनिएकाहरूमा विवेककै अभाव छ
कम्युनिष्टहरूले इष्टमित्रलाई प्रोत्साहन गरेका छन्
गरिबको पार्टी भनेपछि
गरिबहरू बढाउँदै लगेका छन्
हामी गरिब हौँ भन्ने धनीहरूका
आफ्नै परिवारका सदस्य पोषित छन् ।

धर्मका नाममा मत सङ्ग्रह गर्नेहरूले
विधर्मीहरूको दानापानी खाएका छन् ।

बिर्सियौ कि आफ्नै जरोकिलो
बिर्सियौ आफ्नो थातथलो
स्वजनको कुभलो चिताउँदै
पराइलाई खुसी बनाउँदै

ए ! मूढहरू
उपहास किन पुर्खाहरूको ?
कहाँ लैजाँदै छौ नातिनातिना ?
नाडीहरू छामेर हेर
मुटुको धड्कन अनुभूत गर

जोगाऊ आफ्नो वेशभूषा
बचाऊ परिवार र कुटुम्ब
बन सबैको सहृदयी
चिन आफू आफैलाई !