तुलसीपुर, २१ माघः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना दिवसको शुभकामना दिनुभएको छ । प्रदेश स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेशमा देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिने काममा सफल भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशको आफ्नै प्रशासनिक संरचना, विकास ढाँचा, जनअपेक्षा पूरा गर्न सक्षम हुने कुरामा विश्वास रहेको उहाँको भनाइ छ । प्रदेश सरकारले नागरिकको विकासप्रतिको तीव्र आकाङ्क्षा पूरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपनालगायत साझा सरोकारका मुद्दामा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको उहाँले बताउनुभयो । राजनीतिक अस्थितरताको अन्त्य गरी समृद्ध लुम्बिनी, खुसी नागरिकको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको आचार्यको भनाइ छ ।
प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवका रूपमा मनाउँदैछ । आज आठौँ स्थापना दिवस उत्सवको रूपमा मनाउन थालेको हो । प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदैछ । प्रदेश प्रमुखको विशेष उपस्थितिमा मूलसमारोह आयोजना गर्न थालिएको हो । बाजागाजासहित झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयका स्टलसमेत राखिने छन् ।
प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो । प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसका रूपमा मनाउन थालिएको हो ।