काठमाडौँ, २२ माघः अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाले खिच्नुभएको तस्बिर प्रदर्शनी गरेको हो ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा नेपालको सातै प्रदेश समेटिने २२ तस्बिर राखिएका थिए । सो अवसरमा राजदूत यादवले नेपालको विकासका लागि पर्यटन प्रवर्द्धनमा जोड दिन यस्तो तस्बिर प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले विदेशमा रहेका सबैले नेपालको प्रवर्द्धनमा जोड दिनुपर्ने जनाउनुहुँदै विदेशमा रहेका नेपालीहरूलाई समय मिलाएर पटक–पटक सपरिवार नेपाल घुम्न पनि जोड दिनुभयो ।
न्यू साउथ वेल्स (एनएसडब्लु)का वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर थापाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने बताउनुभयो ।
सो अवसरमा राजदूत यादव र वाणिज्यदूत शर्मालाई फोटोग्राफर थापाले नेपाल झल्कने किताबसमेत प्रदान गर्नुभएको थियो ।