मनहरी (मकवानपुर), २२ माघः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गर्नुभएको छ । उहाँले रोगको सुरुआतमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिनुभयो ।
आज मकवानपुरको हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट सुरु एचपिभी खोप अभियानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नेपालमा बर्सेनि हजारौँ महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भइरहेको बताउनुभयो ।
नेपालमा दैनिक चारजना महिलाले पाठेघरको मुखको क्यान्सरबाट मृत्युवरण गर्नुपरेको बताउँदै उक्त भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा एचपिभी खोप अभियान सुरु गरिएको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री लामाका अनुसार पछिल्लो समय क्यान्सर प्राणघातक रोगसँगै आर्थिक रूपले पनि जटिल बनिरहेको छ । क्यान्सरको उपचारमा भन्दा सहायक रोगको व्यवस्थापनमा बढी खर्च हुने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले नेपालमा नसर्ने रोगबाट मृत्यु हुने दर बढ्दो रहेको बताउनुभयो । उहाँले ७० प्रतिशत मानिसको नसर्ने रोगबाट मृत्यु भइरहेको बताउँदै नसर्ने रोगको क्षति रोक्नुपर्ने चुनौती रहेको बताउनुभयो ।