माघ २२, २०८१ मंगलबार

काठमाडौँ, २२ माघ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले क्यान्सर निवारण गर्न सचेतना र रोकथामको पाटोमा बढी जोड दिनुपर्ने बताउनुभएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले आयोजना गरेको विश्व क्यान्सर दिवस, २०२५ को अवसरमा ‘पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरू’ भन्ने मूल नाराका साथ आज आयोजित अन्तरक्रियामा उहाँले क्यान्सर नै लाग्न नदिने बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो ।

    सचिव पोखरेलले भन्नुभयो, “निरोधात्मक पक्षमा बढी ध्यान दिनुपर्ने आवश्यकता छ । पहिचानपछि उपचार गर्ने राज्यको दायित्व त छ तर क्यान्सर लाग्नै नदिन काम गर्नुपर्ने देखिन्छ । क्यान्सर उपचारमा रिफरल मेकानिजमलाई व्यवहारिक र परिस्कृत बनाउनुपर्नेछ ।” उहाँले सचेतनाको पाटोमा तल्लो तहमा काम गर्ने र रिफरल मेकानिजमलाई राम्रो गरेर केन्द्रकृतभन्दा पनि प्रदेश स्तरसम्म लाने र आवश्यकताअनुसार केन्द्रमा ल्याउँदा क्यान्सर उपचारमा सहजता आउने बताउनुभयो ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले क्यान्सरको प्रारम्भिक पहिचान र रोकथाममै बढी जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक पहिचान गर्नसके पछि जटिलता थपिँदैन । सचेतना अभियान पनि सञ्चालन गर्नुपर्नेछ । रोग लाग्न नदिनमा बढी प्रयास गर्नुपर्ने देखिन्छ । रोकथाममा नै बढी जोड दिनुपर्ने देखिन्छ ।”

    प्रा डा क्यान्सररोग विशेषज्ञ डा विवेक आचार्यले क्यान्सर सबैको चासो र सचेतनाको विषय बन्नुपर्ने बताउँदै जबसम्म क्यान्सरको उपचार समयमा हुँदैन तबसम्म यो प्राणघातक रोग नै मानिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रारम्भिक चरणमै रोग पत्ता लगाउन र उपचार गर्न सकियो निको पार्न सकिने रोग हो । नेपालमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फोक्सो क्यान्सर बढी देखिएका छन् । पेटसम्बन्धी क्यान्सर बढिरहेको छ । आयातित तथा प्रशोधित खानेकुराले यस्तो क्यान्सरलाई बढावा दिइरहेका छन् । साथै धूमपान पनि यसको प्रमुख कारक हो ।”

    नेपाल चिकित्सक सङ्घका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा अनिल कार्कीले अझै पनि सचेतना पुग्न नसकेको बताउनुभयो । उहाँले बिरामी तेस्रोदेखि चौथो स्टेजसम्म आइरहेको र ढिलो आउँदा उपचार पनि जटिल हुने बताउनुभयो । सुरूआती चरणमा आए निको हुने सम्भावना अधिक हुने उहाँको भनाइ छ ।