तुलसीपुर (दाङ), २३ माघः तुलसीपुरस्थित ‘हाम्रो पहुँच’ बहुउद्देश्यीय सहकारी संस्थाले एक सय बढीलाई रोजगारी प्रदान गरेको छ । चार हजार सात सय शेयर सदस्य रहेको सहकारीले एक सय सात जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले एक सय सात जनाले रोजगारी पाउनुका साथै एक हजार दुई सय उद्यमशीलतामा जोडिएका जानकारी दिनुभयो । उहाँका अनुसार सहकारीले बचत तथा ऋणसहित विद्यालय, पेट्रोलपम्प, डेरी उद्योगसहित विभिन्न छ वटा व्यवसाय सञ्चालन गर्दै आएको छ ।
विसं २०६४ मा स्थापनि भएको उक्त सहकारीले तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरूमा सेवा प्रदान गरिरहेको छ । हाल सहकारीको वार्षिक कारोबार रु ६० करोड रहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु एक करोड २८ लाख दुई हजार आठ सय ६५ खुद बचत छ ।
पछिल्लो समय सहकारी सम्बन्धमा नकारात्मक विषय बढी आउने गरेका भन्दै अध्यक्ष भण्डारीले सकारात्मक र उदाहरणीय काम गरिरहेका सहकारीलाई स्थानीय सरकारले संरक्षण र प्रवर्द्धन गर्न योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिनुभयो । चालु आर्थिक वर्षमा आठ सय नयाँ सदस्य थप्ने लक्ष्य रहेको उल्लेख गर्दै हाल तुलसीपुर उपमहानगरमा मात्रै कार्य क्षेत्र रहेकामा आगामी दिनमा जिल्लाभर विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।