माघ २३, २०८१ बुधबार

काठमाडौँ, २३ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित हुने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज नेपाल निजामती कर्मचारी सङ्गठनको १२औँ विभागीय अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पदमा हुँदैमा सक्षम नेतृत्व सावित नहुने बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संस्थापक एवं पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको चर्चा गर्दै हालका प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत नेतृत्व क्षमताको उदाहरण दिनुभयो । 

“पद पाउनु नेतृत्व सावित हुनु होइन,” उहाँले भन्नुभयो, “पदीय जिम्मेवारीमार्फत के कस्ता परिवर्तन ल्याउन सक्यो त्यो नेतृत्व क्षमता हो ।” रुपान्तरण ल्याउन सक्ने नेताले जनताको मनमा स्थान पाउने धारणा उहाँको थियो ।

उहाँले निजामती कर्मचारी सङ्गठनको कार्यशैलीप्रति प्रशंसा व्यक्त गर्दै बलियो सङ्गठन बन्न विचार, भावना, सङ्गठन र शैलीमा एकरुपता आवश्यक रहको उल्लेख गर्नुभयो ।