काठमाडौँ, २३ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको काम तीव्रताका साथ अघि बढाउन सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयको गतिविधिबारे आज जानकारी लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्य छिटो अघि बढाउन निर्देशन दिनुुभएको हो । उहाँले पदबहालीका क्रममा तीन सय दिनभित्र उक्त रङ्गशालाको स्तरोन्नति गर्ने बताउनुभएको थियो ।
रङ्गशालामा प्याराफिट र फ्लडलाइट निर्माणका लागि मन्त्रालयले आह्वान गरेको बोलपत्रबमोजिम मूल्याङ्कनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो ।
प्रधानमन्त्री ओलीले बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरू भएदेखि नै तदारूकताका साथ बजेट र कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सो मन्त्रालयको चालु आर्थिक वर्षको चालु प्रगति १९ दशमलव ३५ र पुँजीगत प्रगति १२ दशमलव ०४ मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओली भनाइ थियो । उहाँले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशनमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालय मातहत रहेका सङ्घीय संसद् भवन, धरहरा, सङ्घीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्रबैंकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावि योजनाबारे अवगत गराइएको थियो ।