माघ २४, २०८१ बिहिबार

जनकपुर, २४ माघः मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई मधेश प्रदेशको संशोधनसहितको सञ्चार ऐनसम्बन्धी प्रतिवेदन आज बुझाइएको छ ।

    आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव नेतृत्वको टोलीले उक्त प्रतिवेदन बुझाएको हो । सो प्रतिवेदनमा प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ र प्रदेश एफएम रेडियो सञ्चालन ऐन २०७७ मा आवश्यक संशोधनसहितका विषय समावेश गरी मन्त्री लेखीलाई बुझाइएको प्राधिकरणका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुवै विधेयकमा त्रुटि हुँदा कार्यान्वयनमा समस्या भएपछि मन्त्रिपरिषद्को गत असोज २१ गतेको निर्णयले संशोधन समिति गठन गरेको थियो । दुवै ऐन एक–अर्कासँग बाझिने अवस्था देखिँदा संशोधनसहित एकीकृत गर्ने तयारी भइरहेको  यादवको भनाइ छ ।

    प्रदेश सञ्चारसम्बन्धी ऐन २०७७ भदौ ६ गते प्रमाणीकरण भएको थियो भने प्रदेश एफएमरेडियोसम्बन्धी ऐन २०७७ साउन ५ गते प्रमाणीकरण भएको थियो ।