धनकुटा, २४ माघः सेवानिवृत्त बेलायती सेना विश्वासदीप तिगेलाले छथर जोरपाटी गाउँपालिका–१ स्थित आफूले अध्ययन गरेको विद्यालय भारती उच्च माध्यमिक विद्यालयका नाममा जग्गा खरिद गरी खेलमैदान, स्टेजलगायतका पूर्वाधार निर्माण गर्नुभएको छ ।
पछिल्लो समय बेलायतमै बस्दै आउनुभएका तिगेलाले करिब रु एक लाख ५० हजारमा जग्गा खरिद गरी रु पाँच लाख बराबरको खेलमैदान र स्टेज भवन निर्माण गर्नुभएको विद्यालयका प्रधानाध्यापक भीमबहादुर लिम्बूले जानकारी दिनुभयो ।
सो संरचनाहरु तिगेलाले गत सोमबार एक औपचारिक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गर्नुभयो । उक्त संरचनाको उद्घाटन छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता खेवाले गर्नुभयो । खेलमैदान र स्टेज भवनको कागजपत्र जग्गादाता तिगेला र धर्मपत्नी भोजकुमारी थोक्लेनले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमकुमार लिम्बू र प्रधानाध्यापक भीमबहादुर लिम्बूलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष खेवाले विद्यालयको सुधार र उन्नतिका लागि सहयोग गर्नुहुने तिगेलालाई धन्यबाद दिनुभयो । विद्यालय व्यवस्थापन समितिले उक्त खेलमैदानलाई विश्वासदीप तिगेला खेलमैदान नामकरण गरेको प्रधानाध्यापक लिम्बूले बताउनुभयो ।