माघ २४, २०८१ बिहिबार

काठमाडौँ, २४ माघः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग संयुक्त राष्ट्रसङ्घ नेपालका आवासीय संयोजक हाना सिङ्गर हाम्दीले शिष्टाचार भेट गर्नुभएको छ । 

    मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच  वन तथा वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा कुरा भएको मन्त्रालयले जनाएको छ ।

    भेटमा मन्त्री शाहीले परराष्ट्र मन्त्रालय र वन मन्त्रालयले आयोजना गर्न लागेको सगरमाथा संवाद उच्चस्तरको कार्यक्रम भएको जनाउँदै त्यसमा संयुक्तराष्ट्र सङ्घको सहयोगको अपेक्षा गर्नुभएको थियोे ।

    मन्त्री शाहीले जलवायु, जैविक विविधता र मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराउनुभएको थियो ।

    सो अवसरमा आवासीय संयोजक हाम्दीले वन मन्त्रालयले पछिल्लो पटक राम्रो काम गरेको बताउँदै मन्त्रालयले अन्तरराष्ट्रिय मञ्चहरुमा महत्वपूर्ण ‘एजेन्डा’ उठाएको उल्लेख गर्नुभएको थियो । नेपालले पर्वतीय र जलवायु परिर्वतनका एजेन्डा उठाएर राम्रो काम गरेको उहाँको भनाइ थियो ।