माघ २४, २०८१ बिहिबार

महेन्द्रनगर (धनुषा), २४ माघः यस वर्षको प्रतिष्ठित ‘अमित झा साहित्य सङ्गीत पुरस्कार’ स्व शास्त्रीय सङ्गीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ । 

    आज जनकपुरधाम साहित्य महोत्सवको छैटौँ संस्करणको उद्घाटनमा स्व सङ्गीतकार कामतकी पत्नी सगुनवती देवी कामतलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँह र स्व अमित झाका बुबा रामनारायण झाले संयुक्त रुपमा रु एक लाख पाँच हजार राशिको पुरस्कार प्रदान गर्नुभयो ।

    अमित झा साहित्य सङ्गीत पुरस्कार नव मिथिला फाउन्डेसनको आयोजनामा हरेक वर्ष साहित्य र सङ्गीत क्षेत्रमा विशेष योगदान पु-याउने व्यक्तित्वलाई प्रदान गरिन्छ । स्व कामतले नेपाली शास्त्रीय सङ्गीतमा महत्वपूर्ण योगदान पु-याउनु भएको थियो ।

    उहाँ गत साउनमा दिवङ्गत हुनुभएको थियो । उहाँ ‘प्रबल जनसेवा श्री’ लगायतका सम्मानबाट सम्मानित हुनुभएको थियो । उहाँले जीवनभर राज्यबाट अपेक्षित सहयोग पाउन सक्नुभएन । पुरस्कार हस्तान्तरणसँगै महोत्सवमा क्यान्सर रोगबाट पीडित सङ्गीतकार अशोक दत्तलाई रु ५१ हजारको आर्थिक सहयोग पनि प्रदान गरिएको छ । सङ्गीत क्षेत्रमा दत्तको योगदानको कदर गर्दै सहयोग रकम उहाँको उपचारका लागि प्रदान गरिएको हो ।

    तीन दिनसम्म चल्ने जनकपुरधाम साहित्य महोत्सवको यस संस्करणमा विभिन्न साहित्यिक र साङ्गीतिक कार्यक्रमहरू हुने जनाइएको छ । पहिलो दिन राजनीतिक विश्लेषक सिके लालले ‘सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’ विषयमा आफ्नो प्रस्तुति गर्नुभयो ।