माघ २८, २०८१ सोमबार

भोजपुर,२८ माघः भोजपुरको पौवादुङमा गाउँपालिकामासुरुआत भएको छ । उद्यमशीलताको विकाससँगै रोजगारी सिर्जना गर्ने लक्ष्यले जिल्लामा नै  पहिलो पटक यो कार्यक्रम सुरुआत भएको हो । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पौवादुङमा गाउँपालिका र दायित्व संस्थाको त्रिपक्षलागत साझेदारीमा पाइलट प्रोजक्ट (नमूना परीक्षण कार्यक्रम)का रुपमा सञ्चालन गरिएको छ ।  

कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयको रु चालिस लाख, गाउँपालिकाको रु बीस लाख र दायित्व संस्थाको रु पन्ध्र लाख गरी कूल रु ७५ लाखको लागतका कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत उद्यमीहरुको छनोट, सशक्तीकरण, व्यावसायिकीकरण र बजारीकरणमा सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।

“त्रिपक्षलागत साझेदारीमा हाम्रो गाउँपालिकामा पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेका छौँ” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो,“यो कार्यक्रम अन्तर्गत यहाँका उद्यमीहरुको खोजी तथा पहिचान गरेर सशक्तीकरणसँगै व्यावसायिकीकरण र बजारीकरणको लागिसमेत प्रोत्साहन गरिने छ। ।”

 प्रारम्भिक चरणमा चालिस उद्यमी छनोट गरिने र त्यसबाट क्रमशः २० र दश गरेर उत्कृष्ट दश जना उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि आवश्यक सहयोग गरिने अधिकृत भट्टराईले जानकारी दिनुभयो । 

नमूना कार्यक्रमका रुपमा कोशी प्रदेशमा रहेका एक सय ३७ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा मात्र कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यो कार्यक्रम भोजपुरको पौवादुङमा गाउँपालिका, खोटाङको एँेसेलुखर्क गाउँपालिका, इलामको फाक्फोकथुम गाउँपालिका, झापाको गौरादह नगरपालिका र सुनसरीको रामधुनी नगरपालिकामा मात्र पाइलट प्रोजेक्टका रुपमा सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । प्रदेश सरकारले वृद्धिमुखी उद्यमशीलता  र रोजगार प्रवद्र्धनका लागि प्राथमिकता साथ यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । 
“उद्यमशीलता र रोजगारी वृद्धिका लागि यो निकै महत्वपूर्ण कार्यक्रम छ” अध्यक्ष राईले भन्नुभयो,“जिल्लाका नौ वटा स्थानीय तहमध्ये यो वर्ष पौवादुङमा गाउँपालिका मात्र यो कार्यक्रम सुरुआत भएको छ । यसले यहाँका विभिन्न उद्यमसँग जोडिएकालाई आवश्यक सहयोग गर्नेछ ।”

यो कार्यक्रम एक वर्षसम्म सञ्चालन हुने जनाइएको छ । कार्यक्रम सञ्चालन तथा उद्यमीलाई सहजीकरण गर्नको लागि दायित्व संस्थाका एक जना उद्यम अधिकृतले यहाँ नै बसेर सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । 
यो कार्यक्रम अन्तर्गत, कृषि, पशुपालन, व्यापार, घरेलु उद्योगलगायतको प्रवद्र्धन तथा विकासको क्षेत्रमा काम गरिने गाउँपालिकाले जनाएको छ । छनोटमा परेका उद्यमीलाई ५० प्रतिशत अनुदानमा मागको आधारमा प्रविधिसमेत हस्तान्तरण गरिने गाउँपालिकाको भनाइ छ ।