माघ २८, २०८१ सोमबार

    वासिङ्टन, २८ माघ:  राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताउनुभएको छ । यो उहाँले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो ।     
     
 एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताउनुभयो ।     
     
 सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाउनुभएको थियो । यसलाई उहाँले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको विश्वास गर्नुभएको थियो ।     
     
 अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् । क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसक्नुभएको छ ।     
     
 रिपब्लिकन अर्बपति ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताउनुभयो ।     
     
 “हरेक देशसँग पारस्परिक व्यवहार हुनेछ”, ट्रम्पले भन्नुभयो । उहाँले मङ्गलबार वा बुधबार भन्सारको बारेमा विस्तृत घोषणा गर्ने बताउनुभयो ।     
     
 राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाउनुभएको छ ।     
     
 क्यानाडा र मेक्सिकोले फेन्टानिल लागूपदार्थको प्रवाह र कागजातविहीन आप्रवासीहरूको संयुक्त राज्य अमेरिकामा प्रवेशलाई रोक्न कडा कदम चाल्ने वाचा गरेपछि ट्रम्पले दुवै मुलुकविरुद्धको २५ प्रतिशत भन्सार एक महिनाका लागि रोक्नुभयो ।     
     
 तर चीनविरुद्धको भन्सार भने अघि बढ्यो । मङ्गलबारदेखि संयुक्त राज्यमा प्रवेश गर्ने उत्पादनहरूमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ ।     
     
 बेइजिङले सोमबारदेखि लागू हुने गरी कोइला र तरलीकृत प्राकृतिक ग्यास जस्ता केही अमेरिकी उत्पादनहरूमा लक्षित भन्सार लगाएर जवाफ दिएको छ ।     
     
 गोल्डम्यान स्याक्सका अनुसार नयाँ चिनियाँ भन्सारले १४ अर्ब डलर मूल्यका अमेरिकी सामानहरू समेट्छ भने ट्रम्पले घोषणा गरेको भन्सारले पाँच खर्ब २५ अर्ब डलर मूल्यका चिनियाँ सामानहरू समेट्छ ।     
     
– स्वर्णिम युग –     
     
 ट्रम्पले युरोपेली सङ्घ (इयु) मा पनि कर लगाउने वाचा गर्नुभएको छ र उहाँले चाँडै अनिर्दिष्ट ‘पारस्परिक भन्सार’ घोषणा गर्ने बताउनुभएको छ ।     
     
 फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले आइतबार प्रसारित एक अन्तर्वार्तामा युरोपप्रति गरिएको वित्तीय धम्कीको विषयमा ट्रम्पसँग सीधा मुकाबला गर्ने प्रतिज्ञा गर्नुभयो । यद्यपि उहाँले संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घको सट्टा चीनमाथि आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने बताउनुभयो ।     
     
 म्याक्रोंले सिएनएनमा युरोपमाथिको कुनै पनि भन्सारको प्रभाव अमेरिकीहरूले महसुस गर्नेछन् भन्दै यसले ‘अमेरिकामा लागत बढाउने र मुद्रास्फीति सिर्जना गर्ने’ चेतावनी दिनुभयो ।     
     
 शुक्रबार जापानी प्रधानमन्त्री शिगेरु इशिबासँगको मैत्रीपूर्ण बैठकमा ट्रम्पले टोकियोलाई जापानसँगको अमेरिकी व्यापार घाटा शून्यमा नझारेसम्म निर्यात गरिएका सामानमा भन्सार लाग्नसक्ने चेतावनी दिनुभयो ।     
     
 विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्त राज्यको व्यापार घाटा गत वर्ष बढेर करिब नौ खर्ब २० अरब डलर पुगेको छ ।     
     
 संयुक्त राज्य अमेरिकाका लागि ‘नयाँ स्वर्ण युग’ को वाचा गर्नुभएका ट्रम्पले कुनै पनि शुल्कको प्रभाव अमेरिकी उपभोक्ताहरूलाई नदिई विदेशी निर्यातकर्ताहरूले वहन गर्ने कुरामा जोड दिनुभएको छ । यद्यपि धेरै विज्ञहरूले यसको विपरीत बताएका छन् ।     
     
 तर यस महिनाको सुरुमा मेक्सिको, क्यानाडा र चीनमाथि भन्सार घोषणा गरेपछि उहाँले अमेरिकीहरूले आर्थिक ‘पीडा’ महसुस गर्न सक्ने स्वीकार गर्नुभयो ।     
     
 ट्रम्पले आफ्ना व्यापक नीतिगत लक्ष्यहरू हासिल गर्न भन्सारलाई धम्कीको रूपमा प्रयोग गर्नुभएको छ । सबैभन्दा पछिल्लो पटक उहाँले कोलम्बियाले निर्वासित आप्रवासीहरू बोकेका अमेरिकी सैन्य विमानहरूलाई फर्काउँदा त्यसमाथि भन्सार लगाउने बताउनुभएको थियो ।     
     
 ट्रम्पसँगको एक दिनको टकरावपछि कोलम्बियाली सरकार पछि हटेको थियो ।