माघ २९, २०८१ मंगलबार

जेरुसेलम, २९ माघ: सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीले नाजुक गाजा युद्धविरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल बनाएको’  हमासका एक वरिष्ठ नेताले मगङ्लबार बताएका छन् ।

    “ट्रम्पले सम्झनुपर्छ कि त्यहाँ एउटा सम्झौता छ जसलाई दुवै पक्षले सम्मान गर्नुपर्दछ र कैदीहरू (बन्धकहरू) फिर्ता गर्ने यो एक मात्र तरिका हो”, सामी अबु जुहरीले भन्नुभयो, “धम्कीको भाषाको कुनै मूल्य छैन र यसले मामिलालाई थप जटिल बनाउँछ ।”

    जनवरी १९ देखि लागु गरिएको युद्धविरामले गाजामा १५ महिनाभन्दा बढी चलेको लडाइँलाई धेरै हदसम्म रोेकेको थियो र इजरायली जेलबाट सयौँ प्यालेस्टिनी कैदीको सट्टामा पाँच समूहका इजरायली बन्धकहरूको मुक्त भएका थिए ।

    तर गत महिना ट्रम्पले गाजा कब्जा गर्ने र त्यहाँका २० लाखभन्दा बढी बासिन्दालाई हटाउने प्रस्ताव गरेपछि तनाव बढेको थियो ।

    शनिबार दिउँसोसम्म सबै इजरायली बन्धकलाई मुक्त नगरे युद्धविरामको अन्त्यका लागि आह्वान गर्ने भन्दै उहाँले सोमबार थप दबाब दिनुभएको थियो ।

    “मेरो विचारमा यदि सबै बन्धक शनिबार १२ बजेसम्म –– मलाई लाग्छ यो उपयुक्त समय हो –– फिर्ता गरिएनन् भने म भन्छु यसलाई रद्द गर्नुपर्छ र सबै सर्तहरू समाप्त हुन्छन् र नरक मच्चिन दिनुपर्छ”, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई भन्नुभयो ।

    युद्धविराम सम्झौताअनुसार सम्झौताको चालु ४२ दिनको पहिलो चरणमा चरणबद्ध रूपमा रिहाइ हुनुपर्ने भनिएको छ ।

    इजरायलले सहायता वितरण लगायत युद्धविराम सम्झौताअन्तर्गत आफ्नो प्रतिबद्धता पूरा गर्न असफल भएको आरोप लगाउँदै हमासले अर्को बन्धकको रिहाइ ‘अर्को सूचना नआउन्जेल स्थगित’ गरिने बताएपछि ट्रम्पको पछिल्लो चेतावनी आएको हो ।