माघ ३०, २०८१ बुधबार

काठमाडाँै, ३० माघः बालबालिकालाई आफ्नो काम आफैँ गर्न सिकाउने शैक्षिक चेतनामूलक बालगीत ‘आफूसित आफैँ दङ्ग’ रामबाबु सुवेदी ‘अफिसियल’ नामक युटुब च्यानलबाट सार्वजनिक भएको छ । 

गीतले बालबालिकालाई समयको सदुपयोग गर्ने प्रेरणा प्रदान गरेको छ । बाल साहित्यकार सुवेदीको  शब्दरचना रहेको यस गीतलाई दीपक शर्माले सङ्गीत भर्नुभएको छ । यसमा नरेन्द्र वियोगीको सङ्गीत संयोजन छ ।  आर्यभ डङ्गोल, पारिका श्रेष्ठ, ओश्ना छेत्रीसहित यस बालगीतमा डियरवाक सिफल स्कुलका बालबालिकाले गायन र अभिनयमा  आफ्नो कला  प्रस्तुत गरेका छन् । प्रस्तुत भिडियोमा समयको महत्व बुझ्नुपर्छ, स्वस्थ रहनुपर्छ, फुर्तिलो हुनुपर्छ भन्ने भाव रहेको  छ । 

आज यहाँ आयोजित  कार्यक्रमका  उक्त गीतको भिडियो विमोचन गरिएको छ । विमोचन समारोहमा गीतकार सुवेदीले बालबालिकाहरूले गीत हेरेर, सुनेर असल बानीको विकास गरून भनी यो सिर्जना रचिएको बताउनुभयो  । यस्तै कार्यक्रमका साहित्यकार प्राज्ञ अमर न्यौपानेले सकारात्मक संदेश दिने यस बालगीत निकै उपयोगी रहेको बताउनुभयो । यस्तै उहाँले यस अडियो र भिडियोमा गायन, अभिनय र नृत्यको सुन्दर संयोजन रहेको पनि उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा डियरवाक सिफल स्कुलका विद्यार्थी र शिक्षकहरूसहित करुण थापा, कार्तिकेय घिमिरे, ललिता दोषीलगायत विभिन्न स्रस्टाहरूको उपस्थिति रहेको थियो । अथितिहरूले  बालमनोविज्ञानमा आधारित प्रस्तुत गीतिभिडीयोले हाम्रा बालबालिकामा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वाश व्यक्त गर्नुभयो ।   स्कुलका अध्यक्ष हितेष कार्कीले रामबाबु सुवेदीका गीत बालबालिकाका निम्ति उत्प्रेरणादायक  हुने हुनाले स्कुलले  अडियो भिडियो निर्माण संयोजन गरेको बताउनुभयो । 

अफिसियल नामक युटुब च्यानलमा ७४ भिडियो सार्वजनिक भएका छन् । ती सबै बालगीत सन्देशमूलक, शिक्षामूलक र सिकाइमूलक रहेका छन् ।  यस भिडियोमा आचार्य गोपालको परिकल्पना र निर्देशन रहेको छ । यस्तै भिडियोमा  सुनिल भण्डारीको  छायाङ्कन, वीरबहादुर थारुको सम्पादन र प्रवीण अधिकारीको अनुवाद  रहेको छ । कार्यक्रम सञ्चालन डियरवाक सिफल स्कुलका नेपाली विभाग प्रमुख तेजप्रसाद काफ्लेले गर्नुभएको थियो ।